प्रेम सम्बन्धमा रहेका केटाकेटी बेपत्ता भए पछि सिराहामा ‘कथित’ उच्च जातका केटी पक्षकाले ‘कथित’ तल्लो जातका केटाको आमालाई अपहरण गरेका छन।
प्रेम सम्बन्धमा रहेका सिराहाको मिर्चैया नगरपालिका–१ का १९ वर्षीय कमलेश महरा र १८ वर्षीया नेहा कापरले गएको चैत २३ गते भागेर बिहे गरे पछि उनीहरु सम्पर्कविहीन छन् । तर गैरदलितको छोरी भगाएको भन्दै केटीपक्षले केटाको आमा ४५ वर्षीया राजकुमारी महरालाई मंगलबार बन्दीपुरस्थित भुल्केचोकबाट अपहरण गरिएको र बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
अपहरणमा संलग्न रहेको आरोपमा कर्जन्हा नगरपालिका–१० की ललिता कापर, मनोज कापर र सुवेल अंशारीलाई पक्राउ गरिएको डीएसपी वस्नेतले बताए । ललिता, नेहा कापरकी आमा हुन् ।
डीएसपी बस्नेतका अनुसार राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको थाहा पाएपछि ललिलतासहित आठ जनाको समूहमा अपहरण गरेका थिए । खोजतलासको क्रममा बुधबार राति राजकुमारीलाई लहानबाटै अपहरण मुक्त गरिएको हो । ललितालाई त्यहीबाट नियन्त्रणमा लिइएको डीएसपी वस्नेतले बताए ।
अपहरणमुक्त भएकी राजकुमारीका अनुसार अपहरण गरेर राति गाडीमा भारततिर लगेका थिए । प्रहरीले चेकजाँचका लागि रोक्दा आफूले अपहरण गरेर लगेको गुहार मागेको भएपनि उपचारको लागि लग्न लागेको भनेर ढाँटेका थिए । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।
उनका अनुसार तल्लो जात (दलित) ले आफ्नो छोरी भगाएको भन्दै केटी पक्षले निरन्तर तनाव दिने गरेको छ । केटीकी बुबा राजकुमार, आमा ललिताले कहाँ भगाएको भन्न दबाब दिँदै कुटपिट तथा यातना दिँदै आएका छन् ।
केटाकेटी भागेकै समय केटीको घरपरिवारले केटाको आमा राजकुमारीमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीलाई जानकारी भएपछि केही दिन सुरक्षा दियो, तर कुटपिट गर्नेमाथि केही कारबाही भएन ।
केटीका बुवा राजकुमार र आमा ललितासहितले केटाका काका रामअशिषका छोरा २५ वर्षीय रुपेश महरामाथि आक्रमण गरे । विराटनगरको न्युरो र काठमाडौंको मेडिसिटीमा उपचार गराएका उनी केही दिनअघि मात्र घर फर्किएका छन् ।
रुपेशको परिवारले केटीकी आमाबुबामाथि मिर्चैया प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन् । तर राजनीतिक पहुँचको कारण प्रहरीले पक्राउ नगरेको र त्यही कारण एकपछि अर्को घटना घटाएको पीडित परिवारको आरोप छ । डीएसपी बस्नेतले पक्राउ गर्ने प्रयासमा लागेको बताए । अपहरण घटनामा केटीकी आमासहित आठजनाविरुद्ध किटानी जाहेरी दर्ता भएको उनले जानकारी दिए ।