ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेकामध्ये श्रीमान जेल चलान, गर्भवती श्रीमती धरौटीमा रिहा

ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेकामध्ये श्रीमान जेल चलान, गर्भवती श्रीमती धरौटीमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.8K
    Shares

लागू औषधसहित लमजुङमा पक्राउ परेका मौलादिन मियाँ दम्पत्ति

ठुलो मात्रामा लागू औषधसहित लमजुङमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले पुर्पक्षमा रहने गरी जेल पठाएको छ भने उनकी सात महिनाकी गर्भवती श्रीमतीलाई धरौटीमा छाडेको छ। जिल्ला अदालत लमजुङले वलपुरको देवचुली नगरपालिका-१६ घर भइ हाल सुन्दरबजार नगरपालिका-९ भोटेओडार बस्ने ३० वर्षीय मौलादिन मियाँलाई पुर्पक्षमा रहने गरी लमजुङ जिल्ला कारागार पठाएको हो भने उनकी श्रीमती २६ वर्षीया जमिला मियाँ रुपियाँ धरौटी राखेर छुतेकी छिन्।

जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले गएको वैशाख २ गते गते बिहान साढे ५ बजेतिर उनीहरुलाई छ पोका लागूऔषध खैरो हिरोइन २ दशमलव ०३ ग्राम, लागूऔषध डाइजेपाम एम्पुल २३ थान, फेनरागन एम्पुल २३ थान, नुफिन एम्पुल २१ थान र नाइट्रजेपाम ट्याबलेट ६९ थानसहित सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार, वीरगन्जबाट बस चढेर लमजुङ सदरमुकाम बेसीसहर आएका उनीहरु बसबाट ओर्लिएर घर जाने क्रममा खानतलासी गर्दा जमिला मियाँले लगाएको भित्री बस्त्रमा उक्त परिमाणको लागू औषध लुकाइछिपाइ ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका दम्पतीमाथि जेठ २५ गते बिहीबार थुनछेक बस हुँदा जिल्ला अदालतले मौलादिन मियाँलाई पुर्पक्षको लागि कारागार चलान गरेको र जमिला मियाँलाई ३५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छाडेको अदालतका निमित्त स्रेस्तेदार विश्वराज कुइँकेलले बताए ।

उनका अनुसार ७ महिनापछिका गर्भवतीलाई थुनामा राख्न कानुनले दिँदैन । उनी ७ महिनाको गर्भवती भएका कारण मुद्दा पुर्पक्षका लागि राखेर धरौटी राखेर तारेखमा छोडिएको हो । श्रीमान्‌लाई थुनामा राखेर र श्रीमतीलाई तारेखमा राखेर अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनीहरुलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को बमोजिम लागूऔषध ओसारपसार तथा बिक्री वितरणतर्फ सजाय हुने गरी अभियोगपत्र पेस भएको थियो । उल्लेखित कसुरमा प्रतिवादीहरुलाई ५ वर्षदेखि २० वर्षसम्म सजाय र ५ हजारदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको डीएसपी प्रकाश श्रीमलले बताए ।

प्रतिक्रिया