साइकलको १० र मोटरसाइकलको ४० रुपैयाँ शुल्क तिरेर काठे पुल तर्न बाध्य : वर्षाको समयमा आवागमन ठप्प

साइकलको १० र मोटरसाइकलको ४० रुपैयाँ शुल्क तिरेर काठे पुल तर्न बाध्य : वर्षाको समयमा आवागमन ठप्प


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.7K
    Shares

नदी बगरमा पिलरहरू ठडिएको वर्षौं भयो । छेउमै बाँस र अन्य काठको प्रयोग गरेर काठेपुल निर्माण गरिएको छ । दोदा नदीको बगरमा ठडिएका पिलर हेर्दै स्थानीय शुल्क तिरेर काठे पुलबाट वारपार गरिरहेका छन् ।

काठे पुलमा यात्रा गरेवापत एक पटकका लागि साइकलको १० र मोटरसाइकलको ४० रुपैयाँ शुल्क तिर्नुपर्छ । यो पनि बर्खा नलाग्दासम्म मात्रै । बर्खा लागेपछि त आउजाउ नै ठप्प हुन्छ ।

‘बर्खा लागेपछि त काठेपुल सबै बगाउँछ, त्यसपछि दोदा नदी तर्नै सकिँदैन,’ कञ्चनपुरको लालझाडी गाउँपालिका ४ का कमलसिंह साउदले भने, ‘यहाँ पुल नबन्दा बर्खामा लालझाडी गाउँपालिकाको आउजाउ नै ठप्प हुन पुग्छ ।’ कात्तिक-मंसिरदेखि जेठसम्म काठेपुल सञ्चालनमा आउँछ । बर्खा शुरु हुने बितिक्कै पुल बन्द गरिन्छ ।

दोदा नदीको बगरमा बनेको काठे पुल तर्दै मोटरसाइकल
दोदा नदीको बगरमा बनेको काठे पुल तर्दै मोटरसाइकल

प्रेमा रानाको घर शुक्लाफाँटा नगरपालिका १२ मा पर्छ । उनी लालझाडी गाउँपालिका ४ को सिद्धवैजनाथ आधारभूत विद्यालयकी शिक्षका हुन् । उनी हरेक दिन साइकलमा यही काठेपुलबाट दोदा तरेर स्कुल आउजाउ गर्छिन् । उनले एक सिजनका लागि साइकिलसहित पुल तरेवापत सुरुमै ५ सय अग्रिम शुल्क बुझाएकी छन् ।

‘पक्की पुल नबन्दा हामीले खोला तर्न समेत पैसा तिर्नुपर्छ,’ रानाले भनिन्, ‘नजिकै पक्की पुलका पिलर खडा गरिएका छन्, तर हामीले काठकै पुलबाट नदी तर्नुपर्छ ।’ उनका अनुसार बर्खामा त दोदा नदी भएर आउजाउ गर्न सकिँदैन । त्यही भएर दुई/तीन महिना स्कुल जानै सकस हुने उनले बताइन् ।

‘पुल नबन्दा २२ माल (२२ वटा गाउँ) को ढोका बन्द भएको छ,’ साउँदले भने, ‘यस विषयमा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म दबाब दिइसकेका छौं ।’ उनका अनुसार बर्खाका बेला अत्यावश्यक काम परेमा ट्युव र डुंगाको भरमा नदी तर्नुपर्छ ।

उक्त क्षेत्रमा काठेपुल स्थानीय सरस्वती रानाले बनाएकी हुन् । उनले काठको प्रयोग गरेर ४० हजारमा पुल बनाएको बताइन् । अहिले साइकल र मोटरसाइकलबाट दैनिक ४/५ सयसम्म आम्दानी भइरहेको उनले बताइन् । ‘काठ किने, डोजर लगाएर बाटो बनाए, धेरै खर्च भयो,’ उनले भनिन्, ‘अहिले यसैबाट घर खर्च चलिरहेको छ ।’

लालझाडी गाउँपालिकाको देखतभुली र जाईँ जोड्ने गरी दोदा नदीमा पुल निर्माणको काम ०७४ मा सुरु गरिएको हो । तर हालसम्म उक्त पुलका ४ वटा पिलर मात्रै ठडिएका छन् । तीन वर्षदेखि पुलको काम पनि ठप्प छ ।


उक्त पुल निर्माणका लागि राजेन्द्र लुम्बिनी कुमार श्रेष्ठ जेभीसँग २०७४ मै २४ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पिलर पनि ठड्यायो । तर परीक्षण गर्दा पिलरको फाउण्डेसन मापदण्ड अनुसार नबनेपछि स्थगित गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजनल इन्जिनियर हरि प्रसाद सुवेदीले बताए ।

‘अब पुरानो संरचना काम लाग्दैन, सोही ठाउँमा अर्काे संरचना बनाउनुपर्छ,’ डिभिजनल ईन्जिनियर सुवेदीले भने, ‘निर्माण कम्पनीकै लापर्वाहीले फाउण्डेसन कमजोर भएकाले यसमा सबै खर्च उसकै हुन्छ ।’ उनका अनुसार केही दिनअघि सडक डिभिजन र निर्माण कम्पनीका प्राविधिकहरुले काम सुरु गर्नेगरी फिल्डको अनुगमन गरेका थिए । तर निर्माण कम्पनीले हालसम्म पनि काम सुरु गरेको छैन ।

सम्झौता हुँदा पुल निर्माणको समयावधि २ वर्ष थियो । त्यसपछि पटकपटक थपिएको म्याद पनि असारमा सकिँदैछ । तर हालसम्म काम सुरु नै हुन सकेको छैन । अब बर्खाअघि नै काम सुरु हुने सम्भावना पनि छैन ।

लालझाडी गाउँपालिका जिल्लाकै दुगर्ममध्ये पर्छ । चारैतिर नदीहरुले घेरिएको उक्त क्षेत्रमा बर्खायाममा आउजाउ गर्न समेत समस्या हुने गरेको छ । दोदा नदीको कटानले वर्षेनि ठूलो मात्रामा खेतीयोग्न जमिन बगर बन्दै गएको छ । पछिल्लो सयम दोदा नदीमो केही ठाउँमा पुलहरु निर्माण हुँदा केही सहज भए पनि देखतभुलीका बासिन्दालाई भने अझै सास्ती नै छ ।

दोदा नदीमै लालझाडी गाउँपालिका जोड्ने गरी पर्सियामा झोलुँगे पुल र नन्द गाउँमा पक्की पुल निर्माण गरिएको छ । तर देखतभुलीका बासिन्दाले बर्खायाममा गाउँपालिकाको कार्यालय जानु परे शुक्लाफाँटा नगरपालिकाको कलुवापुर हुँदै त्यही नन्द गाउँको पक्की पुल प्रयोग गर्नुपर्छ । जसका लागि डेढ/दुई घण्टा लाग्छ । देखतभुलीमै पुल निर्माण भएको भए आधा घण्टामै गाउँपालिकाको कार्यालय पुग्न सकिने स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया