आफुले मागेको सात लाख रुपियाँ कमिशन नदिए पछि बैतडीमा एक गाउपालिका अध्यक्षले बाटो निर्माण समितिका अध्यक्षलाई मरणासन्न कुटेका छन्। सात लाख रुपियाँ कमिशन नदिए पछि बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सिगास–४ को कान्धार देउलेक सडक निर्माण समितिका अध्यक्ष बिर सिंह धामीलाई कुटेका हुन्।
गाउपालिका अध्यक्षको कुटपिटबाट घाइते बाटो निर्माण समितिका अध्यक्ष वीरेन्द्रसिहं धामी घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
यसैबीच बाटो समितिका अध्यक्ष बीरेन्द्र सिंह धामीले गाउपालिकाका अध्यक्ष हरिहरसिंह धामीबिरुद्ध सोमबार जिल्ला अदालत बैतडीमा कुटपिट र गालीगबेइज्जतको मुद्धा हालेका छन् । उक्त मुद्दामा पालिका अध्यक्षले सात लाख रकम माग्दा बिवाद सिर्जना भएको र सोही क्रममा गालीगलौच गर्दै कुटपिट गरेको पीडित धामीले आरोप लगाएका छन् ।
गत मंगलवार सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो । तर चेक साटन जाँदा गाँजरीमा रहेको कृषि विकास बैंक पुग्दा अध्यक्षले उक्त चेक नसाट्न पत्राचार गरेको भन्दै बैंकले भुक्तानी दिन मानेन । चेक नसाटिनुको कारण बुझ्न पुनः पालिका केन्द्र गर्जे जादा अध्यक्षले गालीगलौच र कुटपिट गरेको उनले आफ्नो मुद्दामा खुलाएका छन्।
अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिटपछि उल्टै रातभरी प्रहरी चौकीमा थुन्न लगाएको पीडितले बताएका छन् । गाली गलौच गर्दै लात्ता, मुक्का र लाठीले कुटपिट गरेकाले उनीमाथि कैद र जरीवानाका साथै उपचार खर्च पनि माग गरेका छन्।
जिल्ला अदालत बैतडीका निमित्त श्रेस्तेदार तिर्थ आचार्यले प्रतिवादी पालिका अध्यक्ष धामीले २१ दिन भित्र अदालतमा हाजिर हुनुपर्ने बताए ।
अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष बीर सिंहले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुब्र्यवहार गरेको दाबी गरेका छन् । उनले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गरेको उनको भनाई छ ।
सात लाख कमिसन मागेको भन्ने झुटा आरोप भन्दै उनले पालिकाको लेटरपेड प्रयोग गरि विज्ञप्ती समेत जारी गरेका थिए ।