पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरिएको भनिएका अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावललाई प्रहरीले बाराको सिमराबाट गए राति पक्राउ गरेको छ।
पक्राउ परेका भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमराबाट गएरातिनै चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल आत्महत्या गर्न दुरुत्साहन गरेका मुख्य योजनाकार प्रदिप रुङ्गटालाई अझै पक्राउ नगरेको भन्दै चितवन कांग्रेसले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो । घेराउपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्र बुझाए पछि नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आजको कार्यक्रम स्थगित भएको र भोलि पुनः आन्दोलन गर्ने जानकारी दिएका थिए। तर कांग्रेसका कार्यकर्ताले भने जिल्ला सभापतिको कुरामा असहमति जनाए ।
उनीहरुले केन्द्रिय बसपार्क चोक र हाकिम चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे । मोटरसाइकलमा सवार विरामी यात्रु र तिनका आफन्तलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरे । अत्यावश्यक परेर हिँडेका यात्रुलाई पनि उनीहरुले सातो काडे । पार्टी निर्णयमा नै असन्तुष्टि जनाएका कार्यकर्ताले दिनभर राजमार्ग अवरुद्ध गर्नुपर्ने भन्दै आन्दोलन गरे।
रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए । कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए ।
कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेको छ ।