बाघले समातेर लगेको भनिएकी कंचनपुर जिल्लाको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्द अझैँ फेला परेकी छैनन्।
घाँस काट्न गएको बेला शुक्रबार बिहान चन्दलाई बाघले समातेर लागेको भन्दै उनीसंगै गएका अन्य महिलाहरुले जानकारी दिएका छन्। चन्दलाई बाघले लगेपछि आत्तिदै गाउँमा आएका महिलाहरुले घटनाको बेलिबिस्तार लगाएपछि उनको खोजीका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी सो क्षेत्रमा पुगेका थिए। तर बाघले लगेको भनिएकी महिला अझै बेपत्ता छिन्। महिलामाथि आक्रमण गरेको भनिएको बाघ खप्टिनालाभन्दा ४०–५० मिटर पर रुखमुनि सुतिरहेको ड्रोनले खिचेको भिडियोमा देखिएको छ। भिडियो- तस्बिरमा बाघ झाडीमा लमतन्न परेको देखिन्छ। झट्ट हेर्दा वयस्क पाटे बाघ जस्तो देखिन्छ।
यसैबीच बाघलाई नियन्त्रणमा नलिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ढुंगामुडा गर्दा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायत घाइते भएका छन्। उनको टाउँकोमा चोट लागेको छ। घाइतेलाई उपचारका लागि बेलौरीस्थित अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
बाघले पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिन स्थानीय बासिन्दाले पटक पटक अनुरोध गर्दा बाघ समात्न माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र डिभिजन वन कार्यालय कुण्डाका कर्मचारीले अवाफ दिएपछि स्थानीय झनै आक्रोशित भएका छन्।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, त्यहीँ बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली घटनास्थल पुगेको छ। बर्दियाबाट बाघ बिज्ञ डा. दिनेश देवकोटाको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली पुगेको हो।
यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पनि आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोली घटनास्थल पुगेको हो। बर्दिया र शुक्लाफाँटाको टोलीले बाघको अवस्था हेरेर नियन्त्रण लिने तयारी गरेका छन्।