कथित “दलित”कै ब्रतबन्धमा चार थरी भान्सा : “छोइएको” भन्दै भतेर घोप्टाइए पछि जनप्रतिनिधि पक्राउ, भतेरको डेढ लाख रुपियाँ क्षतिपूर्ति माग

कथित “दलित”कै ब्रतबन्धमा चार थरी भान्सा : “छोइएको” भन्दै भतेर घोप्टाइए पछि जनप्रतिनिधि पक्राउ, भतेरको डेढ लाख रुपियाँ क्षतिपूर्ति माग


  • जन संचार
  • सोमबार, २० चैत्र २०७९
  • 3.8K
    Shares

माछापुच्छ्रे ५ रिवानामा जातीय विभेद

एक्काइसौँ शताब्दीमा पनि अझै नेपाली समाजमा शिल्पी समुदायलाई ‘दलित’ भनेर अपमान र बेइज्जत गर्ने गरेको पाइएको छ। त्यसमा पनि त्यही समाजले विभेद गरेको भनिएको कथित “दलित” समुदायका एक व्यक्तिले गरेको ब्रतबन्ध समारोहामा जातीय विभेद हुने गरी चार वटा भान्सा लगाएको पनि भेटिएको छ।

जातीय विभेद गरेको आरोप लागेर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछाने पक्राउ परेपछि त्यस दिन जातीय विभेद झल्कने गरी चार वटा भान्सा लागाएको खुलेको हो।

प्राप्त जानकारी अनुसार, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारले आफ्ना दुई छोराहरु साहिल र समीरको व्रतबन्ध गर्ने क्रममा इष्टमित्र, छिमंकी, नाता-कुटुम्बका लागि भनेर चार वटा छुट्टाछुट्टै भान्सा लगाएका थिए। उनले बिश्वकर्मा जातका लागि एउटा भान्सा तोकिदिएका थिए भने परियारका लागि अर्को र बाहुन-क्षेत्रीका लागि छुट्टै भान्सा तयार गर्न लगाएका थिए। त्यसमा पनि चोखो भनेर फेरी अर्को भान्सा पनि लगाएका थिए। यही समाजले परियार र विश्वकर्मालाई “भात-भान्सा नचल्ने र छोइने जात भनेर”जातीय उत्पीडन हुने गरी दलित भन्ने गर्दछ भने बाहुन-क्षेत्रीलाई उपल्लो जात ठान्ने गर्दछ। जे भए पनि सन्तोष परियारका छोराहरुको ब्रतबन्ध समारोह सहज र खुशीयालीपूर्बक चलिरहेकै थियो।

सहजतापुर्बक ब्रतबन्ध समारोह चलिरहेका बेला व्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारले बाहुन-क्षेत्रिको लागि भनेर छुट्टै तयार गरिएको भान्सामा पुगेर भतेर मागेपछि उग्र रुप लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

नारायणपनि ब्रतबन्ध गरेका दुबै छोरालाई टीका लगाउनुका साथै दान दक्षिणा दिएर भतेर खान तिर लागे। भतेर खान अगाडि बढेका उनलाई भान्सामा खटिएकी सीता लामिछानेले “तिमी के थरी हो?” भनेर प्रश्न गरे। नारायणले आफू परियार भएको मात्रै के भनेका थिए उनले जवाफ फर्काई हाले, तिमीहरुका लागि यहाँ होइन, अर्को छुट्टै भान्छा छ’–भनेर जातीय विभेद गरेको आरोप उनले लगाएका छन्।

आफूमाथि जातीय विभेद भएपछि नारायणले त्यसको प्रतिकार गर्ने प्रयास गरेको बताए। अहिलेको जमानामा पनि यस्तो कुरा गर्ने? भनेर प्रतिवाद गरेको उनको भनाई छ। त्यतिञ्जेल मौन बसेका माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेले तिमी दलितहरु ठूला पल्टिन थालेछौ। हाम्रो भान्छा जूठो भयो भन्दै ब्राह्मण भान्सामा पाकेका दाल, भात, तरकारी, असार सबै भुईंमा घोप्टाएको नारायणले दाबी गरेका छन्।

लगत्तै स्थानीय सुजन लामिछानेले तिमी दमाईहरु किन बाहुन भान्सामा? हाम्रो भान्सा बिटुलो भयो’ भन्दै अपमान गरेपछि आफू त्यहाँबाट भान्सासमेत नगरी फर्किएको उनको भनाई छ।

त्यसलगत्तै पीडित परियारले कास्की प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जनप्रतिनिधि लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

यसअघि प्रहरीले यही केसमा व्रतबन्धमा निम्तो गर्ने सन्तोष परियार र जातीय विभेद गर्ने सुजन लामिछानेलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

व्रतबन्धमा निम्तो गर्ने परियारले नारायणलाई फोन गरेर संस्कार अनुसार भोजन नगरी अटेर गर्दा आफूले गरेको भोज विफल भएको भन्दै सो भोजमा लागेको डेढ लाख रुपैयाँ फिर्ता दिन भन्दै रकम मागेको पिडित नारायण परियारले आरोप लगाएका छन्। सुजनले भने जनप्रतिनिधि लामिछाने र सीतासँगै मिलेर जातीय विभेदजन्य गालीगलौज गरेको आरोप छ। पक्राउ परेका लामिछानेलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया