मन्त्रि परिषद बिस्तारको टुंगो लगाउन मंगलबार बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ। मन्त्रालय बांडफांडमा साझेदारहरुले आ-आफ्नो अडान राखेका कारण सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको हो।
समाचार स्रोतहरुका अनुसार, बेठकमा नेपाली कांग्रेसले मन्त्रालयको अडान राखेको थियो भने जसपा र नेकपा एसले ३/३ मन्त्री पाउनु पर्ने आफ्नो जिकिर राखेका थिए।
सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्ने सहमति हुन सकेको छैन। नेकपा एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्।
प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिएका सबै दललाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्न पटक-पटक छलफल गरे पनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामध्ये राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने बताएको छ।
यसैबीच प्राप्त जानकारी अनुसार, बैठकमा भागबण्डा नमिले पनि प्रधानमन्त्री प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन् । अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
उक्त मस्यौदाको पहिलो बुँदा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय छ । जस अन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने लगायतका विषय समावेश छन् ।
दोस्रो बुँदामा आर्थिक अवस्थालाई ख्याल गरेर ‘आर्थिक प्याकेज’ ल्याउने उल्लेख छ । त्यसपछिको बुँदामा सुशासन, संक्रमणकालीन न्याय, सन्तुलित परराष्ट्र नीति लगायतका विषय समावेश रहेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार पेश गरेको उक्त मस्यौदामा बुधबार छलफल हुनेछ । त्यसपश्चात न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने सत्तारुढ दलहरुको तयारी छ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी थिए । यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत पनि बैठकमा सहभागी थिए ।