नेपालमा सोमबार कोरोना भाइरसको संक्रमण ह्वात्तै बढिरहदा हिमालपारिको जिल्ला मुस्ताङमा सोमबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार सोमबार, एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो।
देशभर देखिएका ६९ जना संक्रमित मध्ये एक जना मुस्ताङकि महिला रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ। घरपझोङ गाउँपालिकाकी ३१ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।
सामान्य जरो, रुघाखोकी लक्षण देखिएकी उक्त महिलालाई एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालाको मेडिकल सुपरिटेन्डन विशाल तिवारीले जानकारी दिए ।
कोरोना संक्रमित महिला सामान्य लक्षण देखिएपछि उपचारका लागि जोमसोम अस्पतालमा पुगेकी थिइन् । ती महिला अहिले होम आइसोलेसनमा छन्।
पछिल्लो समय मुस्ताङमा पर्यटकीय चहल/पहल बढेको र उनी व्यापार व्यवसायसँग जोडिएकाले कोरोना संक्रमण भित्रिएको अनुमान गरिएको छ ।
मुस्ताङमा फागुनदेखि पर्यटकीय गतिविधि बढेको हो । मुस्ताङमा सडक तथा हवाईमार्गहुँदै दैनिक दुई हजार पर्यटक भित्रिने गरेका छन् । यसअघि मुस्ताङमा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि यहाँ शत प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन लगाइएको थियो ।
संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए।
‘भारतमा संक्रमण बढिरहेको छ। ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो’, उनले भने, ‘हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौं।’
उनका अनुसार अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन्। उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे। भारतको उत्तरप्रदेश संक्रमण बढिरहेको छ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।