चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्टपति भ्लादमिर पुटिनसमक्ष युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका छन्। पुटिनसंग मस्कोमा भएको भेटमा चिनियाँ राष्ट्रपति सीले त्यस्तो प्रस्ताब गरेका हुन्। चिनियाँ राष्ट्रपतिको सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ । राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए । यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो ।
सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’
उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’
पुटिन सन् २००० मा रुसको राष्ट्रपति चुनिएका थिए । दुई पटकसम्म राष्ट्रपति बनिसकेपछि उनी चार वर्षसम्म प्रधानमन्त्री बने । त्यसपछि फेरि सन् २०१२ मा राष्ट्रपति चुनिए । सन् २०१८ मा फेरि अर्को एक कार्यकालका लागि उनी राष्ट्रपति बने ।