पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रन गएको प्रहरी र उनका समर्थकबीच झडप भएको छ ।
इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार पक्राउपूर्जीसहित प्रहरी लाहोरस्थित खान निवास पुगेपछि समर्थक र प्रहरीबीच झडप भएको हो। खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ। ‘प्रहरी गिरफ्तार पत्र सहित खान निवास नजिक छ,’ उनको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।
भ्रष्टचार र आतंकवाद सम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरीले बताएको छ। उनको गिरफ्तारीमा समर्थकहरूले अवरोध खडा गरेपछि प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ । खानमाथि महिला न्यायाधीशलाई धम्की दिएको र राज्यका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ ।
गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आम चुनावको माग गर्दै आएका थिए ।
यसकै प्रतिशोधका लागि आफूलाई गिरफ्तार गर्न लागेको खानको जिकिर छ। गिरफ्तारको सुईँको पाएपछि खानले आफ्ना समर्थकलाई ट्वीटरमार्फत भिडियो सन्देश दिएका थिए । उनले समर्थकलाई भनेका छन्, ‘आफ्नो हक र स्वतन्त्रताका लागि लड्न नछोड्नु, प्रतिशोधपूर्ण गिरफ्तारीको सशक्त प्रतिवाद गर्नु।’
खानले आम चुनावको माग गरे पनि पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले चुनाव गर्न अस्वीकार गर्दै आएका छन् ।