अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै तीन वटै देशले त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन् ।
संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता ‘औकस’ बनाएका यी शक्तिशाली ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति गरेका हुन्।
सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ।
अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ।
इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यी ३ देशबीच औकस गठबन्धन बनेको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनडुब्बीमा आणविक हतियार नहुने र आणविक मुक्त देश हुने अष्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने दाबी गरे । तर यूकेको पनडुब्बी निर्माणमा अमेरिकाले केही संवेदनशील प्रविधि उपलब्ध गराउने छ ।
यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले ‘विश्व व्यवस्थालाई चुनौती दिएको’ र यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
उनले विश्व अस्थिर भएको र सुरक्षा चुनौती बढेको भन्दै आफूहरूले सशस्त्र बलहरूमा लगानी बढाउन लागेको जानकारी गराए।
सुनकले पत्रकार सम्मेलनमा तीन देशको साझेदारीपछि विश्वले अहिलेसम्म देखेको सबैभन्दा उन्नत पनडुब्बीहरू मध्ये एक उपलब्ध गराउने र त्यसले ब्रिटिश जहाज निर्माण गर्ने काममा हजारौंलाई रोजगारी सिर्जना गर्ने बताए।
नयाँ एसएसएन-औकुस पनडुब्बीहरू यूकेले पनि प्रयोग गर्नेछ र योजना अनुरूप सन् २०३० को दशकको अन्त्यसम्ममा रोयल न्याभीका लागि सञ्चालन हुनेछ।
अस्ट्रेलियालाई उपलब्ध गराउने जहाज भने दक्षिणी अस्ट्रेलियामा निर्माण हुनेछ।
त्यसमा यूकेमा निर्मित केही सामग्रीहरूको प्रयोग गरिने छ र सन् २०४० को दशकको सुरुवातमा प्रयोगमा आउने बताइएको छ।
सोमबार उल्लिखित सम्झौता अन्तर्गत, रोयल अष्ट्रेलियन नेवी (आरएएन) का सदस्यहरूलाई पनडुब्बीहरू प्रयोग गर्न आवश्यक सीप र तालिम यसै वर्षदेखि अमेरिका र बेलायतको पनडुब्बी आधारहरूमा इम्बेड गरिनेछ।
सन् २०२७ बाट, अमेरिका र बेलायतले पश्चिमी अष्ट्रेलियाको पर्थमा आरएएन आधारमा थोरै संख्यामा आणविक सब्सहरू राख्नेछन्।