रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० की किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कान दुखेर बिरामी परेकी की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।
स्थानीय २२ वर्षीया सोनिया रेश्मी (माता)ले झारफुक गरेर बिरामी निको बनाउने भन्दै सीतालाई शारीरिक यातना दिएकी थिइन्। सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएपछि उनको मृत्यु भएको थियो।
सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे। सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए। यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो।
भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो। घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन्।
प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ। को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन।