अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गरे।
युक्रेनप्रति संयुक्त राज्य अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको आरोपको खण्डन गरे। रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिएका थिए। उनले आफू पुटिनजस्तो निरङ्कुश एवम् कठोर नभएको पनि बताए।
रुसी संसदमा उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताए। सम्बोधनका क्रममा उनले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गरेका थिए। रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएो प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने वाचा गरेका थिए ।
किभको अप्रत्यासित भ्रमण गरेर आएका अमेरिकी राष्ट्रपतिले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट गरे। रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले त्यसो भनेका हुन्। रुसी र अमेरिकी राष्ट्रपतिका भाषण एकअर्काविरुद्ध वाक्युद्ध थिए ।
त्यसअघि राष्ट्रपति बाइडेनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सामूहिक रक्षाको सिद्धान्तप्रति वासिङ्गटनको प्रतिबद्धता दोहोर्याए।