छापामा आजः निमित्त आईजीपीमा पोखरेल नियुक्त, समयमै निर्वाचन गर्न दलहरुलाई राष्ट्रपतिको लिखित आग्रह

छापामा आजः निमित्त आईजीपीमा पोखरेल नियुक्त, समयमै निर्वाचन गर्न दलहरुलाई राष्ट्रपतिको लिखित आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ फाल्गुन २०७३
  • 10.4K
    Shares

मुलधारका पत्रपत्रिकाहरु

सरकारले प्रहरी नियमावली नै संशोधन गरेर नेपाल प्रहरीको निमित्त आईजीपीमा एआईजी दिनेशचन्द्र पोखरेलाई नियुक्त गरेको समाचारलाई मंगलबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई समयसीमाभित्रै तीनै तहको निर्वाचन गर्न लिखित आग्रह गरेको समाचारले पनि सबै पत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ ।

काठमाडौंका सडकको स्थिति आगामी दसैंसम्म अहिलेकै जस्तो हुनेलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक निकासका लागि दलहरूलाई लिखित आग्रह गरेको समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकको फ्रन्टपेजमा पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला र पत्नी कुसुमको प्रगाढ प्रेमकथा छापिएको छ । त्यस्तै चालू आर्थिक वर्षको तीन अर्ब रुपैयाँ बजेट फ्रिज हुने सम्भावना बढेको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

आगामी माघभित्र तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण भएको समाचारलाई राजधानी दैनिकले महत्वका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम राजनीतिक दाउपेचमै अल्झिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

निजगढ-काठमाडौं फस्ट ट्रयाकको निर्माणमा दबाव धेरै भए पनि काम थोरै भएको समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकमा तीनै तहको निर्वाचन गराउन सरकार दृढ भएको समाचार र सम्पदा पुनर्निर्माण मिश्रित पद्धतिमा हुने समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

प्रतिक्रिया