पाकिस्तानको पेशावरस्थित प्रहरी मुख्यालय नजिक रहेको मस्जिदमा आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ।
मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन्।
पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन्।
त्यसैगरी २ सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्।
शहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए। जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटना लगातार बढिरहेको छ।
उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ। त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतंकवाद ब्यूरोहरू छन्।
पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेका थिए।
विगतमा पाकिस्तानी तालिबानले मस्जिद, विद्यालय वा बजारहरूमा भएका बम आक्रमणहरूको जिम्मेवारी लिएको थिएन।
सो भूमिगत लडाकु समूहले आफू पाकिस्तानी जनतासँग नभई सुरक्षाबलसँग युद्धमा रहेको बताउने गरेको छ। तर धेरै जनाले तालिबानको अस्वीकृतिप्रति शंका व्यक्त गर्ने गरेका छन्।
अफगानिस्तानसँगको सीमानजिकै रहेको पेशावर सहरमा दिउँसोको प्रार्थनाको समयमा दिउँसो झन्डै १ः३० बजे विस्फोट भएको थियो।
पाकिस्तानमा गत नोभेम्बरमा तालिबानले युद्धविराम अन्त्य गरेपछि हिंसा बढ्दै गएको छ।
डिसेम्बरमा उसले देशको पश्चिमोत्तर भागमा रहेको प्रहरी चौकीलाई निसाना बनाउँदै आक्रमण गरेको थियो। उक्त घटनामा ३३ जना आतंककारीको ज्यान गएको थियो।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफ घटनाबारे बुझ्न पेशावर पुगेका छन्। त्यहाँ उनलाई स्थानीय अधिकारीहरूले घटनासम्बन्धी जानकारी गराएका थिए।
शरिफले घाइतेहरूलाई पनि भेट्नुका साथै ज्यान गुमाउने परिवारका सदस्यलाई सान्तवना दिने कार्यक्रम रहेको एपीले जनाएको छ।
प्रधानमन्त्री शरिफले आतंकवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई आक्रमण गरेर तर्साउन खोजेको बताए।
प्रधानमन्त्री शरिफले उक्त आक्रमणको इस्लाम धर्मसँग कुनै सम्बन्ध नभएकोसमेत स्पष्ट पारेका छन्। उनले घटनापछि सम्पूर्ण राष्ट्र आतंकवादको त्रासविरुद्ध एकजुट भएर उभिएको बताए।
यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गरेका छन्। ‘प्रार्थनास्थलमा यस्तो आक्रमण गर्नु घृणित कार्य हो,’ महासचिवका प्रवक्ताले भनेका छन्।