कमोडिटी बजारमा लगानी गर्दा फाइदा हुने लोभ देखाएर ठगी गरेको आरोपमा मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रणसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्पेल इनभेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ, उनकी पत्नी कञ्चन श्रेष्ठ, मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रण र यसका प्रवक्ता छन् । पीडितको जाहेरीका आधारमा अहिले चार जना पक्राउ परेका जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए।
सुरेन्द्रणसहित चारै जनाविरुद्ध मुलुकी अपराध संहिताको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको एसएसपी बोहराले बताए । प्रहरीले यसलाई संगठित अपराधको कसूर अन्तर्गत पनि मुद्दा चलाउने तयारी गरेको छ ।
अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले बताए अनुसार यो कम्पनीले एउटा बैंकमा मात्रै ३७ करोड रुपैयाँ मुद्दती खाता (फिक्स डिपोजिट) मा राखेको पाइएको छ । उनीहरुले कमिसनबाट मात्रै पनि प्रयोगकर्ताबाट उठाएको रकमको ७५ प्रतिशतसम्म लिने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार, अहिले प्रहरीकहाँ पांच जनाको किटानी जाहेरी परेको छ । थप जाहेरी पनि आउने क्रममा छ । नेपालमा मात्रै मेक्स नेपाल एपका ३० हजार भन्दा बढी प्रयोगकर्ता छन् । जाहेरी दिनेमध्येबाट मात्रै पनि ३७ करोड रुपैयाँ बढी ठगिएको पीडितहरु बताउँछन् ।
श्रेष्ठ सञ्चालक रहेको ट्रेडिङ क्लबमा २९ कात्तिकमा पुग्दा कार्यालय पनि बन्द भइसकेको थियो । ‘फोनमा सम्पर्क गर्दा नउठाउने, कहिले काट्ने, म्यासेज पनि रिप्लाई नगर्ने, उठाउँदा पनि जति दिन बन्द गरेपनि के मतलब भन्दै थर्काउन थाले’, पीडितहरु भन्छन् ।
त्यसपछि उनीहरु प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरीका लागि पुगेका थिए । कार्यालयले यो नेपाल राष्ट्र बैंकले हेर्ने किसिमको मुद्दा भएको भन्दै फर्काइदिएको थियो । पछि पीडितहरु जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर उजुरी दर्ता गरेका थिए ।
२०७६ को माघ पहिलो साता कमोडिटी बजारबाट ऋणमा डुबेपछि चन्द्रागिरीस्थित मंगलोदय क्याम्पसमा व्यवस्थापन संकायका शिक्षक विनय लामिछानेले आत्महत्या गरेका थिए ।
कमोडिटी बजारमा गरेको लगानीले नै उनको सपरिवार आत्महत्या गर्ने निर्णयसम्म पुग्न बाध्य भएको अनुसन्धानले देखाएको थियो । उनी एक्सचेन्ज कम्पनी नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालिमा १३ औं नम्बरका ब्रोकर थिए ।