नेपालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बने पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत बधाई दिदै भारत नेपालको नयाँ सरकारसंग मिलेर जान चाहेको बताएका थिए। त्यस यता भारतीय पक्षबाट नेपाल सरकारका बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक भएको थिएन। तर भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता अरिन्दम बाग्चीले नेपालमा बनेको नयाँ सरकार बारे भारतको आधिकारिक धारणा सार्वजनिक गरेका छन्।
बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका छन् । उनले उक्त पत्रकार सम्मेलनमा नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताए ।
नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए ।
‘सांस्कृतिक सम्बन्ध र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझँ कसरी मजबुत गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने काम भयो,’ प्रवक्ता बाग्चीले भने । ‘हाम्रा दुई देशका बीचमा जुन अद्वितीय द्विपक्षीय सम्बन्ध छ यसलाई बढाउनका लागि हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्दछौँ र गर्नेछौँ । दुई देशका बीचमा ऐतिहासिक सम्बन्ध छ,’ उनले भने, ‘चुनावपछि आएको नयाँ सरकार आएको छ । हामी त्यससँग मिलेर काम गर्न उत्सुक छौँ ।’