बाजुरामा एकजना सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुढिगंगा नगरपालिका ६ निवासी २० वर्षकी नितु जैशीको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाह जानकारी दिए।
प्राप्त विवरण अनुसार, असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले टाँटे स्वास्थ्य चौकीमा लगेका थिए । दिउसो साढे चार बजे नितुले छोरीको जन्म दिएकी थिइन् । स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार, साल बेरिएको र बच्चा निसास्सिएको अवस्थामा बच्चा जन्मिएको थियो । तर बच्चा जन्माउने बेला सुत्केरी महिलामा कुनै जटिल समस्या नभएपछि स्वास्थ्य चौकीले साढे ६ बजे घर पठाएको थियो । घर लगेको केही समयमा नितु अत्यधिक रक्तस्राव भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकीमा ल्याएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य चौकी पुर्याइएको २० मिनेटमा नितुको मृत्यु भएको इन्चार्ज छत्र थापाले बताए ।
स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको आठ घण्टादेखि २४ घण्टा भित्र सुत्केरी महिलालाई घर पठाउनु पर्ने प्रावधान रहेको छ । तर स्वास्थ्य चौकीले सुत्केरी भएको दुई घण्टामा नितुलाइ घर पठाएको देखिएको छ। यदि सुत्केरी महिला स्वास्थ्य संस्था भएको भए महिला बाच्न सक्ने अवस्था रहेको स्वास्थ्य संयोजक शाहको भनाई छ ।
नितुलाइ तालिम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा दिएको भएपनि दोस्रो पटक नितुलाइ स्वास्थ्य चौकी लग्दा तालिम प्राप्त स्वास्थ्यकर्मी पनि नभएको पाइएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मी तारा शाही र प्रमीला कुमारी कार्की भने डिउटीमा नरहेको बुझिएको छ ।
बाजुरामा तीन बर्ष यता नितु लगायत नौ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्यादाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाको भनाई छ ।
हुन त सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्ने क्रम रोकिएको छैन । बाजुराका आमाहरूको प्रजनन स्वास्थ्य निकै कमजोर रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले आमाहरूको ज्यान निकै जोखिम बन्दै गएको छ ।