बडाभोज खाएर सुतेको भनिएका कैदी देबेन्द्र बिकको कास्की कारागारमा स्वाभाविक मृत्यु कि हत्या ? (भिडियोसहित)

बडाभोज खाएर सुतेको भनिएका कैदी देबेन्द्र बिकको कास्की कारागारमा स्वाभाविक मृत्यु कि हत्या ? (भिडियोसहित)


  • जन संचार
  • आइतबार, २३ असोज २०७९
  • 4.4K
    Shares

बिगत एक वर्षदेखि कास्की जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका स्याङ्गजा जिल्लाको बिरुवा गाउपालिकाको गहते निवासी करीब २७ वर्षीय देबेन्द्र बिक बिजया दशमी अन्तरगत नवमीका दिन बिहान करीब १० बजे सुतेकै स्थानमा मृत भेटिए। अघिल्लो दिन राती कास्की कारागारमा लागेको बडा भोज खाएर सुतेका बिक भोलिपल्ट मृत भेटिए पछि उनका परिवारजनले बिकको कास्की कारागारभित्र हत्या गरिएको हुनसक्ने आशंका गरेको छ। तर कास्की प्रहरी त्यो कुरालाई पटक्कै स्वीकार गरिरहेको छैन।

कास्की कारागार भित्र सिदाको रुपमा दिइने गुणस्तरहीन खाना खाँदा खाँदा वाक्क बनेका कैदी देबेन्द्र बिकले फूलपातीका दिन आफ्नी श्रीमती दिक्षालाई फोन गरेर “चाडबाडको बेला घरबाट मिठो गरेर पकाई खाना ल्याइदिन” अनुरोध गरेका थिए। त्यति मात्र हैन उनले आफ्नी दिदि मायालाई समेत फोन गरेर भेट गर्न आउन अनुरोध गरेका थिए। तर घरबाट पकाई ल्याएको मिठो खानेकुरा खाने र दिदीलाई भेट्ने उनको इच्छा अब कहिल्यै पूरा नहुने भएको छ।

आफ्नो श्रीमानको अनुरोध बमोजिम मिठो खानेकुरा बनाएर श्रीमान देबेन्द्रलाई भेट्न कास्की कारागार जाने तयारी गरिरहेकी दिक्षालाई बिहान करीब १० बजे कास्की प्रहरीले फोन गरेर “देबेन्द्रको मृत्यु भएको र लाशको सनाखत गरिदिनका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको शबगृहमा आइदिन”आग्रह गरियो। त्यस फोनले उनी झसंग भइन्। उनी अन्य आफ्ना आफन्तलाई समेत लिएर कास्की कारागारतिर दगुरिन्।

उनलाई प्रहरीले देबेन्द्र सुत्ने बेडबिस्तारा देखाइदिए। मृत अवस्थामा भेटिदाको अवस्थाको फोटोहरु पनि देखाए। ती सब हेर्दा उनीहरुलाई लाग्यो कि देबेन्द्रको कारागारमा स्वाभाविक मृत्यु भएकै होला। जब उनीहरुले साबिकको पस्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा पुगेर मृत देबेन्द्र बिकको शब हेरे। उनीहरु झसङ्ग भएर झस्किए।

आफ्ना मृत श्रीमानको शब हेरेकी दिक्षाले संचारकर्मीहरुसंग आफ्नो श्रीमानको हत्या भएको हुनसक्ने आशंका गरिन्। उनले मृत आफ्नो श्रीमानको शबको घुच्चुकमा रगत बगिरहेको, ढाडमा निल डामहरु देखिएको र नाकबाट रगत बगेको अवस्थामा देखेको बताइन्। आफ्ना श्रीमानसंगै जेलमा एउतै ब्लकमा बस्ने अर्का कैदीले केही जानकारी दिन आनाकानी गरिरहेको बताउदै “एउटा कुखुराको चल्लो मर्न लाग्दा त छटपटाउछ भने २६/२७ वर्षको निरोगी मान्छे मर्दा पनि छेवैमा सुतेको मान्छेले कसरी थाहा पाएन ?” उनले प्रश्न गरिन्। उनको थप प्रश्नहरु थिए “शबको नाकबाट र घुच्चुकबाट किन रगत बगिरहेको देखियो ? ढाडमा कसरी निलडाम आयो ?” अघिपछि बिहान ८ बजे सबैलाई उठ्न भनिने गरेकोमा त्यस दिन बिहान पौने १० बजेसम्म देबेन्द्र नउठ्दा समेत किन सोधीखोजी नगरिएको ? उनको जिज्ञासा रहेको थियो। त्यति मात्र हैन उनले संगै सुतेका अर्का कैदीले आफ्ना श्रीमानको मृत्युका बारेमा बेलैमा किन जेल प्रशासनलाई खबर नगरेको भनेर औल्याइन्। उनको दाबी थियो,”मेरा श्रीमानको हत्या गरिएको हो कि भन्ने लागेको छ। निस्पक्ष छानबिन हुनुपर्छ र दोषी देखिए जो भए पनि कारबाही हुनु पर्छ।”

उक्त घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर कुमार तिवारी कैदी देबेन्द्र बिकको अस्वाभाविक मृत्यु भएको बारे आफुहरुले कुनै संकेत नपाएको बताउछन। मृत्यु भएको ४/५ घण्टा पछि शब् कुहिन (dicompose) शुरु हुने जिकिर गर्दै डिएसपी तिवारीले त्यसपछि नाकाबाट रगत पनि बग्न सक्ने र शरीरमा निलडाम भएको जस्तो देखिने दाबी गरे। डिएसपी तिवारीले प्रहरीबाट निश्पक्ष अनुसन्धान हुने कुरामा आश्वस्त पार्दै पिडित पक्षलाई उद्वेलित नहुन आग्रह गरे। अनुसन्धानका क्रममा केही गलत देखिए अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउदै डिएसपी तिवारीले हालसम्म बिकको अस्वाभाविक मृत्यु भन्ने खालका तथ्यहरु फेला नपरेको जिकिर गरे। बिकको मृत्यु वा हत्या के हो भन्ने बारेमा पोस्टमार्टम रिपोर्ट आएपछि केही भन्न सकिने जानकारी दिदै उनले पोस्टमार्टमका लागि तीन जना डाक्टरहरुको ब्यबस्था हुँदै गरेको बताए। अन्य मृत्युमा एक जना डाक्टरले पोस्टमार्टम गरे पुग्ने भए पनि हिरासत वा कारागारमा भएको मृत्युका बारेमा विश्वसनीय आधार बनाउन तीन जना डाक्टरले पोस्टमार्टम गर्नुपर्ने कानूने ब्यबस्था रहेको उनले स्मरण गराए। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बिकको हत्या भएको हो कि स्वाभाविक मृत्यु भएको हो बन्ने बारेमा स्पस्ट बताउन सकिने उनको जिकिर छ।

जिल्ला अदालत कास्कीको आदेशले लागू औषध कारोबार सम्बन्धि मुद्दामा दुई वर्षका लागि जेल सजायं पाएका देबेन्द्र बिक पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनबाट ४४ थाल लागू औषधसहित पक्राउ परेका थिए र गत वर्ष बैशाखमा अदालतले उनलाई दुई वर्षको जेल सजाय तोकेको थियो।

प्रतिक्रिया