भारतमा उत्पादित विभिन्न चार ब्राण्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको हुन सक्ने संगठनले बताएको छ ।
डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेको हो । यी उत्पादनको गम्भीर असर गाम्बियामा भेटिएता पनि अरु देश र प्रान्तमा पुगेको हुन सक्ने आंकलन गरिएको छ । डब्लूएचओले यी उत्पादनले विशेषगरी बालबालिकामा गम्भीर असर र मृत्यु नै हुन सक्ने चेतावनी दिएको छ ।
पर्यटकीय गन्तव्य मानिएको पश्चिम अफ्रिकामा रहेको देश गाम्बियाका जुलाईको अन्त्यमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा तीव्र रुपमा मिर्गौलामा समस्या वृद्धि भए पछि त्यहाँका चिकित्सा अधिकारीहरुले अनुसन्धान शुरु गरेका थिए। सो अनुसन्धानका क्रममा भारतमा उत्पादित उल्लेखित चार प्रकारका औषधीहरुकाकारण गाम्बियाका पाँच वर्ष मुनिका बालबालिकाहरूमा तीव्र रुपमा मिर्गौलामा समस्या वृद्धि भएको निष्कर्ष निकालिए पछि गाम्बियाको सरकारले हाल सबै सिरपको प्रयोगलाई प्रतिबन्ध लगाएको छ। यसको सट्टा ट्याब्लेट प्रयोग गर्न आग्रह गरेको छ ।
उल्लेखित चारवटै सिरपको नमुना परीक्षण गर्दा भारी मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा पाइएको थियो । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानवका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।