भारतीय केराको निर्वाद आयातलाई तत्काल बन्द गर्नुपर्ने जोडदार माग गर्दै नवलपरासीका किसानहरू आन्दोलित बनेका छन्।
भारतबाट निर्वाध रूपमा केरा आउँदा आफूहरुलाई मर्का परेको भन्दै नवलपरासीका किसानाहरु आन्दोलित भएका हुन्।
भारतीय केरा रोक्नका लागि स्थानीयदेखि केन्द्र सरकारसँग माग गर्दासमेत वास्ता नगरेको भन्दै किसानहरूले असोज २ गतेदेखि आन्दोलनको घोषणासमेत गरेका छन्।
नवलपरासी केरा उत्पादक संघले घोषणा गरेको कार्यक्रममा राजमार्ग अवरुद्धदेखि भारतीय केरा बोकेर आउने सवारी साधनलाई रोकेर केरा जफत गर्ने लगायतका छन्।
भारतबाट निर्वाध आएका कारण केही दिनअघि ५० रुपैयाँ प्रतिदर्जनमा बिक्री भइरहेको केरा अहिले मुस्किलले ३० देखि ४० रुपैयाँमा पनि बिक्री हुन छाडेको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए।
नवलपरासीको प्रतापपुर, सुस्ता, सरावल र विनयी त्रिवेणी गाउँपालिका केराको पकेट क्षेत्रका रूपमा रहेको छ। यस क्षेत्रका करिब १२ सय किसानले १८ सय बढी बिघामा व्यवसायिक केरा खेती गर्दै आएका छन्।
१२ देखि १५ महिनामा तयार हुने केराको मुख्य बिक्री हुने समय वैशाखदेखि कात्तिक (छठ) सम्म रहेको छ। अहिले केराको माग बजारमा बढेपनि भारतीय केराका कारण नेपाली किसानका केरा खेतमै कुहिन थालेको अध्यक्ष यादवले बताए।
‘अहिले दैनिक ७० देखि ८० पिकअप बिक्रीका लागि बाहिर जान्छ। त्यतिकै मात्रामा तयार भएका केरा छन्। तर भारतीय केराका कारण दैनिक ७० देखि ८० पिकअप केरा खेर गएको छ,’ अध्यक्ष यादवले भने।
एक बिगा क्षेत्रफलमा पाँच देखि छ लाखसम्मको उत्पादन गर्न सकिने केरा जिल्लाबाट वार्षिक रूपमा १ अर्ब रुपियाँभन्दा बढीको उत्पादन हुने गरेको अध्यक्ष यादवको भनाइ छ।
सरकारले भारतीय केराको आयातलाई रोकेर नेपाली किसानको व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्ने किसानको माग छ।
केरा फलका लागि मात्र होइन यसबाट धेरै फाइदा लिन सकिने किसानहरू बताउँछन्। यसको जरादेखि बोटसम्म पाइने सबै वस्तु उपयोगी छन्।
किसानहरूका अनुसार केराको बोटबाट थाल, कचौरा बनाउन सकिन्छ। गुन्द्री, चकटी बनाउन सकिन्छ। केही स्थानमा यसको बोटबाट चप्पलसमेत बनाउने गरिएको छ।
त्यस्तै यसबाट आउने रेसाले खागी कपडा बनाउन सकिने र यसको पनि आयुर्वेदिक औषधिमा उपयोग गर्न सकिने किसानहरू बताउँछन्।