रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुको धेरै वर्षदेखि जारी रुसको पतन गराउने सपना कुनै पनि हालतमा पूरा नहुने बताएका छन्।
उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ)को बैठकपछि उनले सञ्चारमाध्यमलाई भने, ‘दशकसम्म पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए। तर रुस यथावत् नै रहेको छ । पश्चिमी देशहरूले रुसको विनाश कहिल्यै देख्ने छैनन् ।’
रुसलाई बिनाश गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूले रुस विरोधी गुटहरू बनाएर रुसलाई आफ्नो दिशामा भ्रमित गर्ने प्रयास गरिरहेकाकारण युक्रेनमा सैन्य कारबाही अघि बढाइएको राष्ट्रपति पुटिनले जिकिर गरे।
युक्रेनमा भएको सैन्य कारबाहीको पछाडि रुसको मुख्य उद्देश्य डोनबासलाई मुक्त गराउनु रहेको उनले बताए । युक्रेनबाट आएका ठूला बयान र दाबीका सम्बन्धमा राष्ट्रपति पुटिनले मिडियालाई हतार नगर्न र धैर्यपूर्वक पर्खन भनेका छन् । ‘किएभका अधिकारीहरूले उनीहरू (हामीले) कडा लडाई दिएको घोषणा गरेका छन्,’ उनले भने, ‘हेरौँ यो कसरी अगाडि बढ्छ र कसरी समाप्त हुन्छ। योजनामा कुनै परिवर्तनको हुने छैन । जनरल स्टाफले सञ्चालनको क्रममा आफ्नो रणनीतिक निर्णय गर्दछ। युक्रेनी सेनाले आक्रामक जवाफी हमला गरे पनि हाम्रो कारबाही जारी छ।’
राष्ट्रपति पुटिनले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीसँग भेट्ने इच्छा दोहोर्याएका छन्। तर युक्रेनले पहिले यस्तो बैठकमा सहमत हुनुपर्ने पनि बताएको छ । उनले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको सुरक्षा ग्यारेन्टी सम्झौता पूरा हुने बेला युक्रेनी प्रतिनिधिमण्डलले नै वार्ता त्यागेको दाबी गरे।