झन्डै डेढ दशकदेखि पोखरालाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका जनसम्मत डट कमका सम्पादक नारायण शाही ठकुरी यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन्।
एभरेस्ट आवाज एफएमको सम्बाददाता समेत रहेका शाहीलाई मोफसलकै सबैभन्दा ठुलो र प्रतिष्ठित फुटबल क्लब सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न लागिएको नेपाल खेलकुद पत्रकार संघ कास्कीका अध्यक्ष दिननाथ बरालले जानकारी दिएका छन्।
पुरस्कार राशि २० हजार पांच सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका वडा–५ हो । शाहीले त्रिभुवन विश्व विद्यालयबाट आम संचार बिषयमा स्नातकोत्तर गरेका छन्।
साहारा क्लबले हरेक वर्ष कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारिता गरिरहेको एक जना पत्रकारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ।
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।
यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिने क्लबले जनाएको छ ।