पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेपछि आमा र जुम्ल्याहा शिशु समेतको मृत्यु भए पछि नेपालगन्जस्थित भेरी अस्पतालमा तनाब उत्पन्न भएको छ।
प्राप्त जानकारी अनुसार, ३२ साताकी गर्भवती रहेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी थिइन्। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । तर शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको हो ।
शल्यक्रियापछि आमा र जुम्ल्याहा शिशुको मृत्यु भए पछि शोकाकुल परिवार र आफन्तजन उत्तेजित हुन पुगेका थिए । उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन् ।
महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले ‘केस सिरियस भएकाले डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिएको जिकिर गरे। उनले अघि भने, ‘लापरबाही पटक्कै भएको छैन । प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन ।’