चौतर्फी टिकाटिप्पणीपछि राष्ट्रपति भवन अगाडी आत्मदाह प्रयास गर्ने निहारिका बारे राष्ट्रपतिको चासो

चौतर्फी टिकाटिप्पणीपछि राष्ट्रपति भवन अगाडी आत्मदाह प्रयास गर्ने निहारिका बारे राष्ट्रपतिको चासो


  • जन संचार
  • आइतबार, २९ साउन २०७९
  • 3.2K
    Shares

चौतर्फी टिकाटिप्पणी भएपछी राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायको माग गर्दै राष्ट्रपति भवन अगाडी आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतको विषयमा चासो देखाएकी छिन । उनले शनिबार कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराइन् ।

राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिए ।

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उहाँले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखिरहेकी छिन् ।

न्यायको माग राख्दै पिडित कुमारी आमा निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाहको प्रयास गरेपछि भने गृह मन्त्रालयले पिडित निहारिकासंग भएको सहमति कार्यान्बयनको तयारीमा लागेको जनाएको छ।

गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गरेका थिए। सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि गृह मन्त्रालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले राज्य र निहारिकाबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले सहमतिका कतिपय विषय अन्य मन्त्रालयसँग समेत जोडिएको र समन्वयका क्रममा केही ढिला भएको स्वीकार गर्दै अघि भने ‘‘पाँच बुँदे सहमति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ। केही दिनभित्रै सहमति कार्यान्वयन हुन्छ।’’

महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले आफूलाई १७ वर्षको नाबालिक हुँदै जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको जिकिर गर्दै आएकी छिन्। बलात्कारबाट जन्मिएको बच्चासमेत २३ महिनाको पुगेको छ। उनले शिवराज र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

यस अघि सरकारसंग बलात्कारबाट जन्मेको बच्चाको र आरोपीबीच डीएनए परीक्षण गरी पहिचान गर्ने, नाबालक बच्चाको सुरक्षा, आवास, आर्थिक सहायतालगायत पीडितमैत्री कानुन बनाउने सहमति भएको थियो।

तर सहमति कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै साउन २० गतेदेखि उनले दोस्रो चरणको आमरण अनसन सुरु गरेकी थिइन्। अनसनकै क्रममा उनले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफूमाथि बलात्कार भएको र बच्चासमेत जन्मिएको प्रमाणसमेत रहेको अवस्थामा न्यायका लागि विभिन्न ठाउँमा भौँतारिनु परेको तथा पीडितलाई नै गलत बनाउने र दोषीलाई चोख्याउने गरी अनुसन्धान अघि बढाइएको आरोप पिडित निहारिकाको छ।

धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरी आफूलाई दोषी ठह(याएपछि जिल्ला अदालतको फैसलाउपर फागुन १२ गते उनी उच्च अदालत जनकपुर गएकी छिन । तर अदालतले मुद्दामा अहिलेसम्म पेसी तोकिएको छैन।

प्रतिक्रिया