भारतको बिहार राज्यमा जनता दल युनाइटेड(जदयू)तर्फबाट मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो पदबाट राजिनामा दिएका छन्।
सत्तारुढ भारतीय जनता पार्टीसँगको सत्ता सहकार्यमा बिहार राज्यमा सरकार बनाएका नेता नितिश कुमारले सो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन आफ्नो पदबाट राजिनामा दिएका हुन्। उनले केही समयअगाडि पटनास्थित राजभवन पुगेर राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले अहिले मुख्यमन्त्री पदबाट राजिनामा दिएको भए पनि फेरी पनि उनी नै मुख्यमन्त्री बन्ने तयारीमा लागेका प्राप्त समाचारमा जनाइएको छ। भारतीय जनता पार्टीसँगको सत्ता सहकार्य तोडेका नितिश कुमारले राष्ट्रिय जनता दल(राजद), भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरूको समर्थनमा फेरी सरकार बनाउने बताइएको छ ।
पटक-पटक सरकार बनाउनका लागि गठबन्धन फेरिरहने नीतीश राजदको समर्थनमा पुन: मुख्यमन्त्री बन्ने छन् । उनले भारतीय इतिहासमै सबैभन्दा बढी ८ पटक मुख्यमन्त्रीका रूपमा शपथ लिनेछन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन तर पनि १५ वर्षदेखि बिहारको मुख्यमन्त्री छन् ।
नीतीशले राजीनामा बुझाएपछि पत्रकारहरूसँगको कुराकानीमा सबै सांसदहरूबीच बीजेपी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) छाड्ने सहमति भएको बताएका छन् । बिहारमा नयाँ सरकार गठन गर्नका लागि कांग्रेस र वामपन्थी दलले राजदका नेता तेजस्वी यादवलाई समर्थन पत्र बुझाइसकेका छन् ।