अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित एक सुरक्षित घरको बालकोनीमा बसी रहेका बेला अमेरिकाले ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरि आइतबार जवाहिरीको हत्या गरेको हो ।
हमलाको समयमा काबुलमा कुनै पनि अमेरिकी कर्मचारी मैदानमा थिएनन्। दुईवटा मिसाइलहरू प्रयोग गरेर स्थानीय समय अनुशार शनिबार विहान ६ बजेर १८ मिनेटमा उक्त आक्रमण गरिएको अमेरिकी अधिकारीहरुले पुष्टी गरेका छन् । अमेरिकाले शनिबारको हमला अघि तालिबान अधिकारीहरूलाई कुनै जानकारी दिएको थिएन ।
अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको सामाजिक संजाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। उनले अघि भनेका छन्, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’
सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए । बाइडेनले अल-कायदा नेताको हत्याले सन् २००१ मा भएको ९/११ आक्रमणका पीडित परिवारलाई राहत पुग्ने बताए।
राष्ट्रपति बाइडेनले जवाहिरीलाई एडनमा अमेरिकी युद्धपोत यूएसएस कोलमा सन् २००० मा आत्मघाती हमलाको लागि पनि दोषी देखाएका छन् । उक्त हमलामा परी १७ समुद्री सैनिक मारिएका थिए ।
तालिवानबाट आक्रमणको निन्दा
तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलको एक आवासीय घरमा अमेरिकाले हवाई आक्रमण गरेको बताएका छन् । घटनाको प्रकृति सुरुमा स्पष्ट नभएको तर इस्लामिक इमिरेट्सको सुरक्षा र गुप्तचर सेवाहरूले घटनाको अनुसन्धान गरेपछि प्रारम्भिक निष्कर्षहरूले हमला अमेरिकी ड्रोनद्वारा गरिएको निष्कर्ष निकालिएको उनले बताएका छन् ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सले कुनै पनि बहानामा यो आक्रमणको कडा निन्दा गर्ने मुजाहिदले बताएका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय सिद्धान्त र दोहा सम्झौताको स्पष्ट उल्लङ्घन भनेका छन् । उनले ‘यस्ता कार्यहरू विगत २० वर्षका असफल अनुभवहरूको पुनरावृत्ति रहेको र अमेरिका, अफगानिस्तान र यस क्षेत्रको हितविरुद्ध रहेको बताएका छन् ।