बचतकर्ताको करोडौ कुम्ल्याएर काठमाण्डौबाट गौतमश्री सहकारीका संचालक बेपत्ता

बचतकर्ताको करोडौ कुम्ल्याएर काठमाण्डौबाट गौतमश्री सहकारीका संचालक बेपत्ता


  • जन संचार
  • आइतबार, १५ साउन २०७९
  • 5.2K
    Shares

काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् । एक हप्ता सहकारी विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएका हुन् । अहिले अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरेका छन् ।

सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको बहुउद्देश्यीय सहकारीले काभ्रेको नमोबुद्ध नजिकै गौतमश्री अर्गानिक एण्ड काउ फार्मका नाममा व्यवसायिक रुपमा उन्नत जातका गाईपालन समेत गरेको छ । दैनिक सयौं लिटर दुध बिक्री गर्ने उक्त सहकारीले गाईपालन लगायत अन्य क्षेत्रमा पनि ठूलो लगानी गरेको अवस्था छ ।

लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् । फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् ।

सहकारीले कसको के कति रकम फिर्ता नगरेको हो, सो खुलाई उजुरी दिन भनिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए । यता शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया