बालगृहका बालबालिकालाई कुकुरले नखाने हड्डी दिइएको खुलासा

बालगृहका बालबालिकालाई कुकुरले नखाने हड्डी दिइएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ चैत्र २०७२
  • 13.1K
    Shares

दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुले बालगृहमा रहेका बालबालिकालाई कुकुरले समेत नखाने हड्डी खुवाउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार काठमौंका केही बालगृहहरुमा गरेकोे अनुगमनमा यस्तो पाइएको हो ।
बालबालिकालाई कुकुरले नखाने हड्डी खुवाउँदै गरेको बालगृहको नाम सार्वजनिक गर्न आनाकानी गरेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भने, ँहामीले अनुगमन गरेका बालगृहमध्ये एउटामा मासु भात खुवाउने नाममा कुकुरलाई खान दिने जस्तो हड्डी बालबालिकालाई दिने गरेको पाइयो । अहिले यसलाई गोप्य नै राखेका छौं ।’ उनले अघि थपे, कतिपय बालगृह सञ्चालकहरुले कुकुरलाई दिन ठिक्क पारिएको हड्डी बालबालिकाहरुलाई दिने गरेको भन्दै “यस्तो अपराध गर्नेले उन्मुक्ति नपाउने “प्रष्ट्याए । “यो भन्दा अपराध अरू केहि हुन्छ ?”’ कार्यक्रममा सहभागीहरुलाई प्रश्न गर्दै उनले भने,  “यो त दानवी प्रवृत्ति भयो ।’
काठमाडौं जिल्लामा सञ्चालनमा रहेका २ सय १ वटा बालगृहमध्ये अधिकांश दर्ता नभएका तथ्य अनुगमनका क्रममा पत्ता लागेको थियो । सरकारले विना दर्ता सञ्चालित बालगृहहरुलाई कारवाहीको दायरामा ल्याउन सुरु गरेको छ । दाताको रकममा रजाईं गर्दै आएका सञ्चालकहरुमाथि पनि निगरानी बढाइएको छ ।
काठमाडौं जिल्ला बाल कल्याण समितिले मंगलबार बालगृह सञ्चालकहरुको भेला बोलाएर तत्काल कानुनी प्रक्रिया पूरा गर्न अन्यथा कारबाही भोग्न तयार हुन चेतावनी दिएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भने, ँतपाईं हामीलाई कानुनविपरित जाने अधिकार छैन । याे कानुनी राज्य हो । कतिपयले दर्तै नगरी चलाउनु भएको छ । अब म असाध्यै कडा रुपमा प्रस्तुत हुन्छु ।’ उनले भनसुन गरेर कारवाहीबाट उम्किने सपना नदेख्न बालगृह सञ्चालकहरुलाई चेतावनी पनि दिए । दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुमाथि पनि निगरानी बढाइएको भन्दै उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा खेलवाड गर्नेहरुलाई बालगृह सञ्चालनमा निरुत्साहित गर्ने प्रजिअ सुवेदीले बताए ।

प्रतिक्रिया