पोखरा, २९ भदौ २०८३ ।
काठमाडौं उपत्यकामा प्रतिबन्धित विद्युतीय चुरोट (भेप) को अवैध भण्डारण तथा बिक्री-वितरण भइरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा भेपसमेत बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको कारबाहीका क्रममा २ हजार ७७० थान प्रतिबन्धित भेप बरामद भएको हो।
पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौंका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ रहेका छन्।
प्रहरीलाई काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित भेप लुकाएर राख्ने तथा बिक्री-वितरण गर्ने गरिएको सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं महानगरपालिका–६, चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’ नामक गोदाम र महाबौद्धस्थित आरएचएस इन्टरनेसनल मा एकैपटक छापा मारेको थियो। छापा मार्दा गोदाममा लुकाएर राखिएको अवस्थामा विभिन्न ब्रान्डका ठूलो संख्यामा भेप फेला परेको प्रहरीले जनाएको छ।
सरकारले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विद्युतीय चुरोट (भेप) को आयात, भण्डारण, बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धका बाबजुद अवैध रूपमा यसको कारोबार भइरहेको पाइएपछि प्रहरीले निगरानी र अनुसन्धानलाई तीव्र बनाएको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।