पेट्रोलियम डिलर एशोसिएसनका प्रतिनिधिकै पम्पमा उपभोक्ता ठगिए

पेट्रोलियम डिलर एशोसिएसनका प्रतिनिधिकै पम्पमा उपभोक्ता ठगिए


  • जन संचार
  • मंगलबार, २८ असार २०७९
  • 3.6K
    Shares

पेट्रोल पम्प जाँच

पेट्रोेलियम डिलर एशोसिएसनकै प्रतिनिधिको पेट्रोल पम्पबाट इन्धन बिक्रीमा उपभोक्ता ठगिने गरेको पाइएको छ ।

सोमबार नवलपरासी पश्चिममा संयुक्त जिल्ला बजार अनुगमन समितिले अनुगमन गर्दा उपभोक्तालाई कम परिमाणमा इन्धन दिने गरेको पाइएपछि रामग्राम-६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको छ । उक्त पेट्रोल पम्प पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका नवलपरासी पश्चिम जिल्ला प्रतिनिनिधि सन्तोष अग्रवालको हो ।

अनुगमनका क्रममा सन्तोष आयल स्टोर्समा रहेको सि.नं. २ को पेट्रोल वितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलले चेकजाँच गर्दा प्रति पांच लिटरमा ७० एमएल कम देखिएको पेट्रोल पम्पमा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन समितिका निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि.नं. २ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्री बितरण कार्य बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिए ।

अनुगमन टोलीले जिल्लाका ६ वटा पेट्रोल पम्प अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले नापतौल कार्यालयले मान्यता नदिएको चाइनिज मेसिनबाट इन्धन बिक्री गरेकाले पनि समस्या आएको हुन सक्ने बताए । उक्त आयल स्टोर्सले मेसिन चेकजाँचका लागि निवेदन समेत दिएको न्यौपानेले बताए ।

प्रतिक्रिया