श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले कोलम्बोस्थित निवास छाडेर भागेका छन्।
प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षले कोलम्बोस्थित निवास छाडेर भागेका फ्रेन्च न्युज एजेन्सी एएफपीले समाचार लेखेको छ।
श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए ।
प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।