गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जाे आबेको निधन भएको छ । एक नारा शहरमा आयोजित एक कार्यक्रममा भाषण गरिरहेकाे अवस्थामा सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय एक पुरुषले उनीमाथि गाेली प्रहार गरेका थिए । त्यसलगत्तै गम्भीर घाइते भएर उपचार गराइरहेका ६७ वर्षका आबेकाे निधन भएकाे हाे ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार भाषण गरिरहेका आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।गोली लागेपछि उनी भुइँमा ढलेका थिए र शरीर रक्ताम्मे देखिएको थियो । तत्कालै उपचारका लागि हस्पिटल लगे पनि उनी बाँच्न सकेनन् ।
नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ । अस्पतालमा उनलाई रगत दिइएको थियो तर हर प्रयास गर्दा पनि बचाउन नसिकएकाे जनाइएकाे छ ।
को हुन् आक्रमणकारी?
जापानी सरकारी संचार माध्यम एनएचकेका अनुसार आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको रूपमा पहिचान भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उनले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएका छन्।
आक्रमणकारी खैरो रंगको टि–सर्ट र ट्राउजरमा थिए। रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै एचएचकेले भनेको छ, ‘संदिग्ध व्यक्ति आत्मरक्षा बलका पूर्व सदस्य हुन् र हातले बनाएको बन्दुकले गोली हानेका थिए। सन् २००५ सम्म तीनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरिसकेका थिए।’
शिन्जो आबेको डेमोक्रेटिक लिबरल पार्टीका अधिकारीहरू जो उनीसँगै सार्वजनिक सभामा आएका थिए पत्रकारहरूलाई भने, ‘त्यो मानिसले १० मिटर टाढाबाट गोली हानेको थियो। कसैले पटाका पटकाएको जस्तो देखिन्थ्यो। मलाई अझै विश्वास छैन, यो घटना मेरो अगाडि भयो भनेर। गोली हानेपछि पनि त्यो व्यक्ति शान्त थियो र भागेनन् पनि।’
आक्रमणकारीको बारेमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार भने, ‘हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमिको बारेमा जानकारी छैन। प्रहरी अनुसन्धानपछि मात्र थाहा हुनेछ। हाम्रो लागि, आक्रमणकारीको पृष्ठभूमि जानकारी धेरै महत्त्वपूर्ण छ।’