केजरीवाल नेतृत्वको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ

केजरीवाल नेतृत्वको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ


  • जन संचार
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 4.2K
    Shares

केजरीवाल नेतृत्वको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन

अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । उनलाई सोमबार प्रवर्तन निर्देशनालय(ईडी) ले लेनदेन मामिलामा पक्राउ गरेको हो ।

कोलकातामा रहेको एउटा कम्पनीसँगको कारोबारमा अनियमितता भेटिएको भन्दै उनलाई पक्राउ गरिएको समाचार संस्था एएनआईले जनाएको छ । यस अघि ईडीले दिल्लीमा सत्येन्द्र जैनका कारोबार रहेका ठाउँहरूमा छापा मारेको थियो।

दिल्ली सरकारमा गृह तथा स्वास्थ्यका अलावा जैनले ऊर्जा, लोक निर्माण विभाग, उद्योग, सहरी विकास, बाढी तथा सिंचाइ र जल संशाधन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।

ईडीले गत महिना जैन परिवार र उनीहरूले सञ्चालन गरेको अकिञ्चन डेभलपर्स प्राइभेट लिमिटेड र इन्डो इम्पेक्स प्राइभेट लिमिटेड तथा अन्य कम्पनीका गरी चार करोड ८१ लाख रुपैयाँबराबरको सम्पत्ति जफत गरेको थियो । यी कम्पनीमा जैनका अलावा उनकी पत्नी पूनम जैनको पनि स‌संलग्नता रहेको बताइएको छ । उनको सम्पत्ति सम्पत्ति शुद्धीकरणको विषयमा भइरहेको अनुसन्धानमा आधारित रहेको पनि ईडीले जनाएको छ ।

यसअघि सीबीआईले सन् २०१७ अगस्ट २५ मा जैनविरुद्ध अवैध कारोबारको आरोपमा मुद्दा दर्ता गरेको थियो । यसैमा आधारित भएर ईडीले पनि उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो । ईडीले सन् २०१८ मा पनि जैनसँग सोधपूछ गरेको थियो । ईडीले सत्येन्द्र जैनले आफ्नो सेयर रहेका चार कम्पनीको लगानी स्रोत बताउन नसकेको बताएको छ ।

प्रतिक्रिया