वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम अन्न्पूर्ण आधारभूत विद्यालय मतदान केन्द्रमा महिलामात्र कर्मचारी खटाइएको छ । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाउने भनेर योजना बनेअनुसार अन्नपूर्ण आवि केन्द्रमा महिला मात्र खटाइएको निर्वाचन अधिकृत कार्यालय पोखराका अधिकृत हुमनाथ पराजुलीले बताए ।
उक्त मतदान केन्द्रमा जिल्ला अदालत शाखा प्रमुख सविता ढुंगाना मतदान अधिकृत छिन् । प्रदेश निर्वाचन कार्यालय नायब सुब्बा शर्मिला रानाभाट सहायक मतदान अधिकृत छिन् । सहायक कर्मचारीमा जिल्ला अदालतकी कर्मचारी कविता खनाल, पोखरा महानगरपालिकामा कार्यरत प्रतिभा गौतम र सहयोगी कर्मचारीमा मनमाया कुमाललाई खटाइएको पराजुलीले जानकारी दिए ।
निर्वाचन सम्पन्न गर्न बुधबार बिहान सर्वदलीय बैठक बसेर आचारसंहितामा प्रतिवद्धता जनाउन लगाएको मतदान अधिकृत ढुंगनाले बताइन्। सबै दलका प्रतिनिधिले शान्तिपूर्णरुपमा मतदान सम्पन्न गराउने प्रतिवद्धता जनाएको पनि उनले बताइन्।
कास्कीकै एक मात्र महिलाले सम्पन्न गराउने गरी निर्वाचन कार्यालयले जिम्मेवारी दिएकोले त्यसै अनुसार निर्वाचन सम्पन्न गराउने गरी तयारी गरिएको पनि उनले सुनाइन्।
कास्कीमा ३ सय ३६ मतदान केन्द्र रहेको छ भने १५० मतदानस्थल रहेको छ। स्थानीय तहको निर्वाचनकालागि ३ सय ३६ मतदान केन्द्रमा १६ सय ८० कर्मचारी खटिएका छन्। यसैगरी १ सय ५० मतदानस्थलमा एक मतदानस्थलमा ७ जनाको दरले १ हजार ५० जना सुरक्षाकर्मी खटिएको पनि निर्वाचन कार्यालयले जनाएको छ।
पोखरामा अधिकृतदेखि सबै महिला खटाइएको यो मात्र एउटा मतदान केन्द्र हो । पोखरामा २४४ मतदान केन्द्र छन् । पोखरामा २ लाख ७ हजार ७ सय पाँच मतदाता छन् ।
निर्वाचन आयोगको प्रदेश कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ । जिल्लामा १८५ वटा मतदान स्थल छन् । ३३६ मतदान केन्द्र छन् । बढीमा १ हजार ६५ जना मतदाता हुने गरी एउटा मतदान केन्द्र तयार भएको जानकारी प्रदेश निर्वाचन अधिकारी पराजुलीले जानकारी दिए । कास्कीमा एउटा मतदान स्थलमा बढीमा ६ वटा केन्द्र छन् ।
एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ सय स्वयंसेवक परिचालित रहेको जानकारी सूचना अधिकारी न्यौपानेले दिए । त्यस बाहेक सुरक्षाकर्मीहरु परिचालित हुन् छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी हुनेछन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा राम मावि सिमलचौर केन्द्रमा महिला कर्मचारीमात्रै खटिएका थिए ।
मतदान अधिकृत लगायत कर्मचारी टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुध र बिहीबार मतदाता परिचयपत्र वितरण हुने छ । नयाँ संविधान जारी भएपछि संघीय गणतन्त्र नेपालमा दोस्रोपटक स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ । स्थानीय तह निर्वाचनका लागि देशभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र छन् ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । फोटो कृष्णमणि बराल