श्रीलंकामा आर्थिक संकट बढ्दैछ। जनताले सरकारको चर्को बिरोध गरेपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजिनामा दिएका छन्। तर जनप्रदर्शन भने अझै रोकिएको छैन। सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप कायमै रहेका बेला श्रीलंकाका एक सांसदले सरकारविरोधी प्रदर्शनकारी माथि गोलि चलाएर आत्महर्या गरेका छन्।
सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, पछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।
समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाले पछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका बताइएको छ।
श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र एकसय ३८ जना घाइते भएका छन् ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुजि्ररहेका उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।