सबैतिरबाट ध्यान तानिरहेको पोखरामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पोखरा महानगरपालिकाको वडा नम्बर २२ पुम्दिभुम्दीमा भने सत्तागठबन्धनको दुई समुहसंग भिडन्त गरिरहेको छ।
केन्द्रीय गठबन्धनले सके गठबन्धन गर्ने सम्भव नभए गठबन्धन दलहरुभित्रैबाट मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेर तल्लो स्तरसम्म निर्देशन दिएको छ। तर पोखरा २२ पुम्दिभुम्दिमा त्यस निर्देशन विपरीत सत्तारुढ गठबन्धनको एक दल जनता समाजवादी पार्टी बिरुद्ध गठबन्धनका बाँकी दलहरुले स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई नेतृत्व मानेर अचम्मको महा गठबन्धन बनाई प्रतिष्पर्धा गरिरहेका छन्।
यति बेला गण्डकी प्रदेश सरकारको निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टीकी वडाध्यक्ष उम्मेदवार सरिता क्षेत्री बराल आफ्नो पार्टीको बलबुतामा एक्लै चुनाब प्रचार प्रसार गरिरहेकी छिन। उनलाई सहयोग र समर्थन गर्दै पार्टीकी शिर्ष नेत्री हिसिला यमीले चुनाब प्रचार प्रसारका लागि घर दैलो समेत गरेकी छिन।
उता पार्टीको केन्द्रीय निर्देशन विपरीत स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई वडाध्यक्ष पदमा जिताउन सत्ता गठबन्धनका जनता समाजवादी पार्टी बाहेकका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले अचम्मको महागठबन्धन बनाएका छन्।
अहिले सत्ता गठबन्धनका दुई समूह एउटा जनता समाजवादी पार्टे एक्लै आफ्नो पक्षमा माहोल बनाउन चुनाब प्रचार प्रसार गरिरहेको छ भने अर्को समुह स्वतन्त्र उम्मेदवार हिमलाल बरालको नेतृत्वमा भुइं कटहर चिन्ह बोकेर चुनाब प्रचार प्रसार गर्न लाइन लागेर हिडेका छन्।
त्यसो त पोखरा २२ मा शुरुमा नै स्वतन्त्र उम्मेदवार हिमलाल बराल र जसपाकी नेत्री सरिता बराल क्षेत्रीले मात्र वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हैनन्। उम्मेदवारी दर्ता गर्ने बेला सत्ता गठबन्धनका बीच सहमति नभए पछि मित्रवत प्रतिष्पर्धा गर्ने भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा समेतले वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। पछि सत्ता गठबन्धनका बीच सहमति भए पछि सत्ता गठबन्धनका अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएर जसपा नेत्री सरिता बराल क्षेत्रीको वडाध्यक्ष उम्मेदवारी कायम गरिएको जसपाका पोखरा महानगर कमिटि अध्यक्ष राजु क्षेत्रीले जानकारी दिए।
जसपाकी वडाध्यक्ष पदकी उम्मेदवार सरिता बराल क्षेत्री पुम्दीभुम्दी क्षेत्रकी एक प्रतिष्ठित ब्यबसायी हुन् भने उनी चर्चित पत्रकार एबम महान जनयुद्धका क्रममा गजुरी जेलब्रेक गरेर इतिहास कमाएका पत्रकार राजु क्षेत्रीकी जीवन संगिनी पनि हुन्। उनी उनै पत्रकार क्षेत्री अहिले जनता समाजवादी पार्टी पोखरा महानगर कमिटिका अध्यक्ष छन्।
सत्ता गठबन्धनबीच सहमति भए पछि दश वर्षीय जनयुद्धमा आफुले खाइपाई आएको शिक्षण पेशा छाडेर पूर्णकालिन कार्यकर्ता बनेकी जसपाकी महिला नेत्री सरिता बराल क्षेत्रीले बिजय हासिल गरेर नयाँ इतिहास रच्ने धेरैले अपेक्षा गरेका थिए। तर पुम्दीभुम्दीवासीको यस अपेक्षालाई कुठाराघात गर्दै सत्ता गठबन्धनभित्रैबाट भुइँ कटहर चिन्ह लिएर उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई समर्थन गरेर अर्को अचम्मको महा गठबन्धन बनेको छ।
सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुले चितवनको भरतपुरमा पुगेर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चिन्हमा भोट नहाल्न चेतावनी दिएकै बेला सता गठबन्धनका नेताहरु गठबन्धनकै दल जसपाकी नेत्री सरिता बराल क्षेत्रीलाई पछार्न भुइँकटहर चिन्ह बोकेका स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई बोकेर उनको पक्षमा भोट मागिरहेका छन्।
सत्ता गठबन्धनको केन्द्रीय निर्देशनविपरीत जसपाकी नेत्री सरिता बरालका बिरुद्ध स्वतन्त्र उम्मेदवार हिमलाल बरालसँग गठ्बंदहं गर्नुको कारण भने ती पार्टीका नेताहरुले अचम्मकै देखाएका छन् .
नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल र नेकपा (माओवादी केन्द्र) महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरि ‘बिज्ञान’ पोखरा २२ मा स्थानीय आबश्यकतालाई हेरेर स्थानीय स्तरमा स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको बताउछन। स्वतन्त्र उम्मेदवार हिमलाल बरालले जित्न सक्ने धेरै सम्भावना भएकाले स्थानीय स्तरमा छुट्टै गठबन्धन गरिएको उनीहरुको भनाई छ। नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल गठबन्धन दलभित्रको जनता समाजवादी पार्टीकी नेत्री सरिता बराल क्षेत्रीलाई समर्थन नगरेर केन्द्रीय गठबन्धनको निर्देशन विपरीत स्वतान्द्र उम्मेदवारलाई समर्थन गरिनु गलत ठान्छन। उनी यस बारेमा सत्ता गठबन्धनको जिल्ला स्तरको बैठक बसेर उपयुक्त निर्णय गरिने बताउछन।
जनता समाजवादी पार्टी पोखरा महानगर कमिटिका संयोजक राजु क्षेत्री सत्ता गठबन्धनको केन्द्रीय निर्देशन विपरीत स्वतन्त्र उम्मेदवारलाई समर्थन गरिनुमा करोडौंको चलखेल भएको आशंका गर्छन। उनी अघि भन्छन,”जसपा बाहेकका सत्ता गठबन्धनका नेताहरुले करोड रुपियाँमा वडाध्यक्ष पदको टिकट स्वतन्त्र उम्मेदवारलाई बेचेका छन्। उनीहरुले जनताबाट करोडौं रुपियाँ चन्दा उठाएर पुम्दिकोटमा बनाइएको बिशाल शिवमुर्तिको ठेक्का बिना टेन्डर १० वर्षलाई शेर्पा समुहलाई दिएका छन्। सोही समुहका हिमलाल बराललाई करोडौं रुपियाँमा वडाध्यक्ष पदको टिकट बेचिएको छ ”
स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई करोडौं रुपियाँमा टिकट बेचिएको आरोप बारे सत्ता गठबन्धनका नेताहरु अनबिज्ञता प्रकट गरिरहेका छन्। नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटिका अध्यक्ष कृष्ण गिरि ‘बिज्ञान” उक्त आरोप ठाडै अस्वीकार गर्छन। उनी “त्यस्तो हुने नसक्ने” बताउछन। नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल पनि उक्त आरोप अस्वीकार गर्छन।
गठबन्धन तथा पार्टीको निर्देशन विपरीत उम्मेद्वारी दिने, समर्थन गर्ने र मतदान गर्ने जो भए पनि पार्टीले कारबाही गर्ने निर्णय सार्वजनिक भैरहेको अवस्थामा नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालको स्पस्ट जवाफ छैन। उनी भन्छन, “गठबन्धन दलहरुको बैठक बस्छौं। त्यस बैठकले के निर्णय गर्छ। त्यही निर्णय अनुसार पार्टीले स्वतन्त्र उम्मेदवारका पक्षमा उभिने नेता तथा कार्यकर्ताहरुलाई कारबाही गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ। ”
सत्ता गठबन्धनको जिल्लास्तरको बैठकले स्वतन्त्र उम्मेदवार हिमलाल बराललाई समर्थन गर्ने निर्णयलाइ सदर गर्छ कि बदर ? त्यो हेर्न बाँकी छ। तर जसपाकी वडाध्यक्ष उम्मेदवार सरिता बराल क्षेत्री आफ्नो बिजय सुनिस्चित भएको दाबी गर्छिन। उनी आफु महिला भएकै कारण गठबन्धनका अन्य दलहरुले आफुलाई वडाध्यक्ष बनाउन आनाकानी गरेको आरोप लगाउछिन।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी परिषद सदस्य किरण थापाले सत्ता गठबन्धनका दलहरुले आफुहरुको पार्टीलाई सानो पार्टी भनेर धेरै हेपेको टिप्पणी गरे। उनले स्थानीय तहको चुनाब सकिए लगत्तै पार्टीको बैठक बसेर यसको समग्र मुल्यांकन हुने बताउदै त्यस बैठकले संघीय तथा प्रदेश सरकारमा जसपा बस्ने कि नबस्ने भन्ने बारेमा निर्णय लिने संकेत गरे। उनले स्पस्ट पारे,” सत्ता गठबन्धनका दलहरुले यस्तै ब्यबहार गर्दै रहे भने यही गठबन्धनमा रहनुको औचित्य छैन।
एकातिर सत्ता गठबन्धनभित्र भागबण्डा नमिल्दा पोखरा महानगर भित्र चुनाबी तालमेल हुन् सकेको छैन। अर्कातिर मित्रवत प्रतिष्पर्धा गर्न केन्द्रले दिएको निर्देशन विपरीत गठबन्धनभित्रकै दल जसपा बिरुद्ध स्वतन्त्र उम्मेदवारलाई समर्थन गरिनुले समग्र चुनाबी परिणाममा नकारात्मक प्रभाव पर्न सक्ने स्थानीय मतदाताहरुले विश्लेषण गरिरहेका छन् ।