बिबाह समारोहमा डिजे बाजा बनाउने विषयमा बिबाद हुँदा कुटपिट : २५ वर्षीय युवकको मृत्यु

बिबाह समारोहमा डिजे बाजा बनाउने विषयमा बिबाद हुँदा कुटपिट : २५ वर्षीय युवकको मृत्यु


  • जन संचार
  • बुधबार, १४ बैशाख २०७९
  • 4K
    Shares

बिबाह समारोहमा डिजे बाजा बनाउने विषयमा बिबाद हुँदा भएको कुटपिटबाट सप्तरीमा एक युवाको मृत्यु भएको छ।

सोमबार भएको झडपमा घाइते भएका सप्तरीको खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।

रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए ।

प्राप्त जानकारी अनुसार, छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा डीजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डीजे बाजामा नाच्न दिनुप¥यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । जन्तीलाई रोक्न खोजे पछि विवाद बढेको स्थानीयवासीको भनाइ छ ।

सोही क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताए ।

विहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुनसक्ने उनको आरोप छ । विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उनको बुबाको भनाइ छ ।

प्रतिक्रिया