युक्रेनी शहर मारिओपोललाई रुसले कब्जा गरेको समाचारहरु सार्वजनिक भैरहदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेरुससंग वार्ताको प्रस्ताव गरेका छन्।
रुसले आफ्नो देशको लागि अति महत्वपूर्ण ठानेको युक्रेनी शहर मारिओपोललाई कब्जा गरिएको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।
लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गरेका छन् भने अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिए पनि अब आक्रमण र बम वर्षा नगर्न पनि पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिएका छन् । तर उनले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिएको प्राप्त खबरमा उल्लेख छ ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वार्ताका लागि प्रस्ताव पठाएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्वीट गरेका छन् । रुसले मारियुपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ ।