अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी किशोरी गायिकाले तनहुँ जिल्ला अदालतमा आफ्नो बयान फेरेकी छिन् ।
जिल्ला अदालत तनहुँमा आज बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै आफ्नो बयान फेरेकी हुन् ।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।
किशोरी गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ ।
यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।
उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् । बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।
यता किशोरी गायिकाले पल शाहविरुद्ध लागेको मुद्दामा आफ्नो बयान फेरे संगै उनलाई उक्साएर शाहविरुद्ध मुद्दा हाल्न उक्साउनेहरुलाई कडा कारबाहीको माग गर्न थालिएको छ। सामाजिक संजालाहरुमा अभिनेता पल शाहबिरुद्ध उक्साएर मुद्दा हाल्न लगाउने गायक दुर्गेश थापा, शाहका मेनेजर कृष् जोशी लगायतलाई कडा कानूनी कारबाहीको माग गरिएको छ।