छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरको बागमती गाउँपालिका– ८, शान्तिपुरस्थित जनता माविका शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई प्रहरीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो।
जनता माविमा अध्ययनरत पीडित चार जना बालिकाको प्रतिनिधित्व गर्दै गएको चैत २४ गते तीन जना अभिभावकले तीन शिक्षकहरु बिरुद्ध किटानी जाहेरी दिएका प्रहरीले जानकारी दिएको छ। कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने पीडित बालिकाहरूले कक्षा कोठामा पढाउने क्रममा आरोपित शिक्षकहरूले संवेदनशील अंगमा हात लैजाने गरेको आरोप लगाएका छन् ।
स्थानीय बासिन्दाले गाउँमै मिलाउन खोजेपछि उनीहरू गत २४ चैत राति उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उजुरीको भोलिपल्ट आरोपित एक शिक्षक हेमबहादुर विक प्रहरीको सम्पर्कमा पुगेका थिए भने लोकबहादुर विक र रुद्रबहादुर विक फरार थिए।
यसअघि जनता माविमा ११ चैतदेखि २० भित्र १५ जना बालिका र ६ जना अभिभावकले यौन दुर्व्यहार भएको आरोप लगाउँदै कारबाहीका लागि उजुरी दिएका थिए । उजुरीमाथि कारबाही गर्नुको सट्टा विद्यालयले राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई राखेर घटना मिलाउने प्रयास गरेको थियो ।
यौन दुर्व्यहार जस्तो संवेदनशील घटना मिलाउन खोजिएको भन्दै जिल्लास्थित मानव अधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले निरन्तर दबाब बढाएपछि प्रहरीमा जाहेरी परेको हो । पीडित बालिका र अभिभावकहरूले विद्यालयमा उजुरी दिए पनि विद्यालयसँगै रहेको इलाका प्रहरी कार्यालय फापरबारीमा भने जाहेरी दिएका थिएनन् । प्रहरीले घटनाबारे जानकारी पाउँदा आरोपित शिक्षकहरू विद्यालयमा बिदा लिएर हिँडिसकेका थिए ।
विद्यालयका प्रधानाध्यापक बसन्त राईले बालिकहरूको उजुरीपछि तीन शिक्षकलाई तीन दिन निलम्बन गरेका थिए । निलम्बनपछि गाउँमा बेइज्जत हुने डरले आरोपित शिक्षकहरू बिदा लिएर हिँडेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार निगेलीले बताए ।