कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएको छ। झारफुकका क्रममा धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीलेसात जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, केही दिनदेखि बिरामी रहेकी स्थानीय महिला ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानी कमला साउदको घरमा मृत्यु भएको थियो।
शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन्। सोही क्रममा उनको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए। उनले धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए। प्रहरीले घटनास्थलबाट फलामका रडहरु समेत भेटिएको जानकारी दिएको छ। महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनााएको छ।