कञ्चनपुरका सुकुम्वासीले आफूहरुको समस्या समाधान नभए आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् । सुकुम्वासी सङ्घर्ष समिति पुनर्वास-१० कञ्चनपुरले आयोजना गरेको आम भेला तथा बहस कार्यक्रममा उनीहरूले पटक पटक स्थानीय तहले आफूहरूलाई ठगेको भन्दै आगामी चुनावमा भोट नदिने चेतावनी दिएका हुन् ।
लामो समयदेखि विभिन्न आन्दोलन गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको भन्दै उनीहरुले पटक पटक सुकुम्वासीलाई लालपूर्जा दिने प्रलोभन दिइए पनि अहिलेसम्म सुकुम्वासीका समस्यामा नगरपालिका मुखदर्शकमात्रै बनेको आरोप लगाए ।
सुकुम्वासी संर्घष समिति पुनर्वास नगरपालिका वडा नम्बर-१० का संयोजक बलबहादुर विष्टले आगामी वैशाखको पहिलो हप्ताभित्र सुकुमबासीका समस्यामा नगरपालिका अगाडि नबढे आगामी स्थानीय चुनाव बहिष्कार गर्ने बताए ।
‘यदि वैशाखको पहिलो हप्ता भित्र सुकुम्वासीका समस्यामा नगरपालिका अगाडि नबढे हामीले आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने लक्ष्य लिएका छौँ । यदि वैशाखको पहिलो हप्तामा नगरपालिकाले सञ्चालन गरिहाले भने हामी उहाँको कार्यमा स्वागत गर्नेछौँ । हामी उहाँप्रतिको दुश्मनी होइन । हामीले एउटा प्रक्रियामा प्रति सुकुम्वासीलाई किन आवश्यक ठानेन् । किन सुकुम्वासीको हक हितका लागि बोलेनन् भन्ने आवाज हाम्रो हो’, उनले भने ।
हातमा लालपूर्जा नहुँदा विभिन्न सरकारी सेवा सुविधाबाट पनि बञ्चित हुनुपरेको पुनर्वास नगरपालिका वडा नम्बर-१० कै सुकुम्वासी भावना खड्काको गुनासो छ । ‘यदि हामीसँग लालपूर्जा हुने हो भने त्यो पूर्जा राखेर हामी बालबच्चाहरूलाई पढाउन सक्थ्यो होला । कुनै उद्योग खोलेर पनि काम गर्न पनि सक्थ्यो’, उनले भनिन्, ‘अब हाम्रो पूर्जा नै छैन । हामी त सुकुम्वासी भयौ तर हामी पछाडिका भावी पिढीलाई के अझै पनि सुकुम्वासी नै बनाउने हो त । हामीलाई सरकारले जग्गा दिनुर्पयो । सुकुम्वासीलाई हुकुम्वासी बनाईदिनुपर्यो ।’
अब जसले सुकुम्वासीलाई हुकुम्वासी बनाई दिन्छ उसैलाई नै आगामी चुनावमा भोट हाल्ने उनको योजना छ । पटक पटक नेताहरूलाई भोट हाल्ने तर आफूहरूका समस्या भने अथावत रहने भएकाले अब आफूहरूलाई हुकुमवासी बनाएपछि मात्रै आगामी चुनावमा भोट दिने उनले बताइन् ।
यस्तै गौरी देवी साउँदले पनि आगामी चुनावमा जसले आफूहरूलाई लालपूर्जा दिन सक्नेलाई आफूहरुले भोट दिने बताइन् । पुनर्वासकै अर्का सुकुम्वासी शेरबहादुर बोहराले सुकुम्वासीको नाममा यहाँ राजनीतिक चलखेल भइरहेको बताए ।
‘अहिले पुनर्वास नगरपालिकामा सुकुम्वासीको नाममा ठूलो राजनीतिक चलखेल भइरहेको च’, उनले भने, ‘एक दिन एक पार्टी आउँछ । हामी पूर्जा दिन्छौ भनेर जान्छ । अनि अर्को दिन पनि अर्को पार्टी आएर फेरि पनि त्यसै आश्वासन दिइरहेको छ । जसका कारण हामी सुकुम्वासीले बर्षौदेखि समस्या भोग्न बाध्य भएका छौँ । यो समस्या अहिलेको होइन बर्षौदेखिको हो र तर स्थानीय सरकार सुकुम्वासीका समस्या बुझ्दैनन् ।’
यता सुकुम्वासी संर्घष समिति पुनर्वासका संयोजक जगत सायरले पटक पटक आन्दोलन गर्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेको बताए । उनले अझै पनि सुकुम्वासीका समस्या गुम्बामै राखियो भने नगरपालिकामा तालाबन्दी समेत गर्ने चेतावनी दिए ।
‘२०३१ साल देखि नगरपालिकामा बसोबास गर्दै आइरहेका सुकुम्वासीको हक हितका लागि हाम्रो यो आन्दोलन हो । हामीले यस अघि पनि नगरपालिकामा तालाबन्दी गरेका थियौ । ७ बुद्धे ध्यानाकर्षण पनि बुझायौ । तर पनि स्थानीय सरकारले सुकुमबासीका मागहरू एउटा गुम्बामै सीमित ग¥यो ।’
उनले सुकुम्वासीका मागहरू सम्बोधन नभए फेरि कडा आन्दोलन उत्रिन बाध्य हुने बताए । अहिले नगरपालिकामा छ हजार एक सय घरधुरी रहेका छन् । जसमध्ये १५० आरक्ष पीडित, एक सय भूमिहीन र बाँकी अव्यवस्थित रहेको संयोजक सायरले बताए ।