भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिदा महाकाली नदीमा बेपत्ता बनेका दार्चुलाका जयसिंह धामीको शब आठ महिना बितिसक्दा पनि अझै फेला परेको छैन। गत साउन १५ गते भएको त्यस घटनाका बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले पनि आबश्यक अनुसन्धान गरेर प्रतिबेदन बुझाएको पनि महिनौं भयो। तर न त दोषीमाथि कारबाही भएको छ, न पिडित परिवारले मै न्याय पाएका छन्।
महाकाली नदीमा बेपत्ता जयसिंह धामीकी धर्मपत्नी राजन्ती न्यायको खोजीमा प्रशासन धाइरहेकी छन् । तर स्पस्ट जवाफ उनलाई कोही कसैले दिएको छैन। अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्तीले बुधवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेर प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई एक ज्ञापन पत्र बुझाएकी छिन। उनले आफ्नो ज्ञापन पत्रमा सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।
जयसिंह धामीको परिवार अहिले पनि न्यायको पर्खाइमा रहेको छ । घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालग छोराछोरी छन् । दुई सन्तानलाई बुवालाई के भयो भन्नेसमेत पत्तो छैन् । छोरी डेढ वर्षकी मात्र भइन् । ५ वर्षीय छोरालाई भने, आफू विदेश जाने र टन्न मिठाइ र खेल्ने कुरा ल्याइदिने बताएर हिँडेका थिए जयसिंह ।
‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले गरेको थियो,’ पत्नी राजन्ती भन्छिन, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’
उनी घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिइयोस् भन्छिन । ‘न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो ?’ बुधवार प्रशासनमा उनले भनिन् ।
आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप सुरुवातमा सरकारबाट १० लाख रुपैया पाएको र त्यो ऋण तिर्दैमा सक्किएको राजन्तीले बताइन । स्थानीय सरकारहरुले पनि सहयोगको घोषणा गरेको तर हालसम्म केही नगरेको उनको गुनासो छ । ‘त्योभन्दा महत्वपूर्ण न्याय हो,’ उनले भनिन्, ‘मलाई न्याय चाहियो ।’
व्याँस गाउँपालिकाले २५ हजार रुपैया सहयोग गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले बुधवार पनि उनलाई आश्वासन दिए, ‘स्थानीय सरकारलाई भनेर कतै करारमा राखिदिउँला ।’
जयसिंह धामी नेपाली सेनामा भर्ती भएका थिए । सेनाको जागिरबाट आउने तलबले घर चलाउन धौधौ परेपछि उनले विदेश जाने निधो गरे । दुबई गए, दुई वर्ष दुई महिना बसेर २०७६ को सुरुतिर नेपाल फर्किए । यहाँ पनि केही समय काम गरेका उनी त्यसले घरधन्दा चलाउन धौ भएपछि बिदेश जानका लागि घरबाट हिडेका थिए ।
विदेश जान भनेर हिँडेका जयसिंह कहाँ पुगे पत्तो छैन । उनी फर्कने, नफर्कने टुंगो नभए पनि न्याय चाहिँ पाउनु पर्ने पत्नी राजन्ती बताउछिन ।