रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली संघ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसले बाइडनविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ।
ब्रिटेनले रुसका थप तीनसय ७० जना व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ । त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ ।
ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन् ।
यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो । ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन् ।
यसैबीच युक्रेनबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन अर्को साता युरोप जानेका भएका छन्।
ह्वाइट हाउसलाईका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेअनुसार बाइडेन मार्च २४ मा युरोपियन युनियनको मुख्यालय रहेको बर्सेल्स पुग्ने छन्। त्यहाँ उनी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनमा सहभागी हुनेछन्।
राष्ट्रपति बाइडेनले युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलेको छैन। तर उनी पूर्वी युरोपेली मुलुकमा गएर युक्रेनका शरणार्थीहरूसँग भेट्ने प्रबल सम्भावना छ।
यता रूसले आक्रमण जारी राखेको युक्रेनको राजधानी किएभमा तीन युरोपेली मुलुकका प्रधानमन्त्री पुगेका छन्। युक्रेनप्रति समर्थन जनाउँदै मंगलबार पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू अचानक किएभ पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।
पोल्यान्डका मतेउज मोराभियास्की, चेक रिपब्लिकका पेतर फियाला र स्लोभिनेयाका प्रधानमन्त्री यानेस यान्साले पोल्यान्डदेखि किएभसम्मको यात्रा रेलमा गरेका थिए।
पोलान्डका प्रधानमन्त्रीका एक जना प्रवक्ताले उनीहरू युरोपियन युनियनको प्रतिनिधित्व गर्दै किएभ पुगेको बताएका छन्। किएभमा हुँदा उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका थिए।