रुसले आक्रमण शुरु गरेको १५ औं दिन युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब आफ्नो देशले नेटोको सदस्यता नलिने बताएका छन् ।
युक्रेन नेटोको सदस्य बने आफ्नो देशका लागि खतरा हुने भन्दै त्यसको बिरोध गर्दै रुसले युक्रेनमाथि सैन्य आक्रमण शुरु गरेको थियो। दुई दिन अघि मात्र रुसले आफ्नो उद्देश्य पुरा नभएसम्म युक्रेन माथि भएको आक्रमण नहुने भनाई सार्वजनिक गरेको थियो। रुसले युक्रेन नेटो सदस्य बन्न नहुने, रुसद्वारा स्वतन्त्र राष्ट्र मान्यता दिइएको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राष्ट्र स्वीकारे मात्र सैन्य आक्रमण रोक्ने बताएको थियो।
रुसले सैन्य आक्रमण रोक्न सारेका दुई माग मध्ये पहिलो मागलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले स्वीकार्ने संकेत गरिदिएका छन्। नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’
उनले रुसले अघि सारेको दोश्रो मागका बारेमा पनि वार्ता गर्न तयार रहेको स्पस्ट बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो ।
रुसले छिमेकी मुलुक युक्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन । रुस नेटोको विस्तारलाई एक खतराको रुपमा हेर्छ । किनकी उ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।