तनहुँको व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको छात्रावासबाट एक जना बौद्धिक अपाङ्गता भएकी छात्रा हराएकी छन् ।
तनहुँ जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल सोही बिद्यालयको छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीया सलिना खातुन विद्यालयको छात्रावासबाट बिहीबार बिहानदेखि हराएकी हुन् ।
ती बालिकाले बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको छ।
आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिइन्। चार-पांच फिट अग्लो रहेकी बेपत्ता बालिका खातुनको आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा रहेको बताइएको छ।
उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकाले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गरेकी छिन।
छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उनले बताइन् ।