रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन्। रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेको भन्दै रुसका व्यापारीले राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको हो।
रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन्।
‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु।’ उनको सन्देशमा उल्लेख छ।
‘पुटिन रुसी राष्ट्रपति होइनन्, उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएका हुन्। त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन्।’
सन्देशमा उनले ‘वान्टेड : डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो : जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन) लेखिएको छ।
यता छिमेकी युक्रेंनमाथि आक्रमण गरिरहेको रुसले यदि तेस्रो विश्वयुद्ध भएमा त्यो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने चेतावनी दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा आयोजित प्रेस सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने चेतावनी दिएको बीबीसीले जनाएको छ । तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए ।
लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन ।’ ‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ ।’ उनले भने ।