संसदबाट एमसीसी सम्झौता घर्किदै जाँदा अमेरिकनहरुले नेपाली राजनीतिक नेताहरुलाई धम्क्याउन थालेका छन्। त्यस सम्झौतालाई संसदबाट पारित गराउन नेपालस्थित अमेरिकी राजदुत बेरीले नेपालका नेताहरुलाई भेटेर दबाब दिईरहेका बेला त्यतिले मात्र नपुगेर अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालका तीन शिर्षस्थ नेताहरुलाई फोन नै गरेर धम्क्याएका छन्।
अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालका प्रधानमन्त्री शेर बहादुर देउबा, पुर्व प्रधानमन्त्री एबम नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल र पुर्व प्रधानमन्त्री एबम प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर धम्क्याएको समाचार स्रोतहरुले जनाएका छन्। उनले नेपालका शिर्षस्थ तीन नेताहरु देउबा, दाहाल र ओलीलाई फोनमा एमसीसी सम्झौता संसदबाट पारित गर्न दबाब दिदै यदि त्यसो नभएमा चीनको हस्तक्षेपका कारण एमसीसी सम्झौता पारित नभएको बुझिने भनेर धम्क्याएको बताइएको छ।
सहायकमन्त्री लुसँगको फोन सम्वादका क्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफू एमसीसी सम्झौता संसदमा टेबल गर्न आतुर रहेको भए पनि कम्युनिस्टहरुले अघि बढ्न नदिएका कारण एमसीसी राजनीतिक मुद्दा बनेको गुनासो गरेका थिए।
अमेरिकी सहायक विदेश मन्त्री लुसंगको टेलीफोन वार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालमा स्थानीय तहको चुनाब घोषणा भैसकेको अवस्थामा र एमसीसी सम्झौता बारे नेपाली जनता विभाजित भैरहेको अवस्थामा एमसीसी सम्झौता बारे चुनाब पछि मात्र निर्णय गर्न सकिने बताएका थिए। आफ़ुहारुले अरुबाट प्रभावित भएर कुनै पनि बिषयमा निर्णय नगर्ने बताएका दाहालले ‘अरुबाट प्रभावित भएर निर्णय गर्ने होइन, तपाईं र हाम्रो कुरा हो,’ भन्दै यस बारेमा निर्णय गर्न चुनावपछि सार्न उपयुक्त हुने बताएको स्रोतको दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको कुरा सुनेपचि अमेरिकी सहायक विदेश मन्त्री लुले एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने जानकारी दिदै ‘अब तपाईंहरुले निर्णय गर्नुपर्छ ।’ भनेर धम्क्याएका प्राप्त समाचारमा जनाइएको छ।
एमाले अध्यक्ष ओलीले अमेरिकी सहायक विदेश मन्त्री लुसंगको सम्बादमा एमसीसी सम्झौता संसदमा टेबल भए एमसीसीलाई एमालेले अप्ठ्यारो नपार्ने जानकारी गराएका थिए। ओलीले सोही क्रममा सभामुख अग्नि प्रसाद सापकोटाका कारण एमसीसी सम्झौता संसदमा पेश हुन् नसकेको आरोप लगाएका थिए।